काठमाण्डौ । व्यवसायीहरुले कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको बताएका छन्।

नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा भएको छलफल व्यवसायीले यस्तो जानकारी गराएका हुन्। यसैगरी पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिक तथा मजदुरको रोजगारी जोखिममा परेको उनीहरुले उल्लेख गरे। 

छलफलमा सहभागीले कोभिडको संक्रमण बढेसँगै विकसित मुलुकहरूले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गरेसँगै पर्यटक आगमन ठप्प रहेको उल्लेख गरेका छन्। उनीहरूले देशव्यापीरूपमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने बताएका छन्। 

परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघसंस्थाका प्रतिनिधिसँग यस क्षेत्रमा कोभिडले पारेको प्रभाव र पुनरोत्थानका लागि गर्नुपर्ने कामका विषयमा छलफल गरेका थिए। छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरोत्थानमा सरकारले विशेष जोड दिनुपर्ने पनि बताएका छन्। व्यवसायीहरूले पुनररुत्थानका लागि विना धितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेका छन्। 

यसैगरी पीसीआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन्। सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि आफूहरूले घोषणाअनुसारको सुविधा प्राप्त नगरेको उनीहरुको गुनासो छ। 

कार्यक्रममा परिसंघका उपाध्यक्ष शाहले व्यवसायीका प्रत्येक समस्या समाधानका लागि परिसंघ अग्रस्थानमा रहेर काम गर्ने बताए। ‘हामी तपाईंहरूसँग छौँ, जति पनि समस्या छन् तिनीहरूको समाधानका लागि पहल गर्छौँ,’ उनले भने।