काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आर्थिक वर्ष २०७७/७८ मा आफ्ना सेयरधनीलाई १४.३६ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

कोभिड महामारीका बीच बैंकले कतिपय सूचकहरुमा राम्रो प्रगति गर्दै आफ्नो लाभांश क्षमतालाई दोहोरो अंकमै कायम गराउने सफलता पाएको हो । 

आर्थिक वर्ष २०७७/७८ का लागि बैंकको कुल वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड ६१ लाख बढी रहेको छ । बैंकको चुक्तापूँजी १२ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले आफ्ना सेयरधनीलाई १४.३६ प्रतिशतसम्म लाभांश बाँड्नसक्छ । 

साना संस्था गाभ्दै ठूलो बन्ने अभियानमा रहेको यो बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको देखिएको छ । 

बैंकले खूद नाफा ३३.४० प्रतिशतले बढाएको छ भने खूद ब्याज आम्दानी, निक्षेप तथा कर्जातर्फ समेत राम्रो प्रगति गरेको छ । 

समीक्षा अवधिमा बैंकको नाफा बढेर १ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खूद नाफा १ अर्ब १९ करोडमा सीमित थियो । 

यस्तै, अघिल्लो वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८८ करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर यो वर्ष ३ अर्ब ६० करोडको उचाई चुमाएको छ । यसरी खूद ब्याज आम्दानीतर्फ बैंकले २५.०८ प्रतिशतको फड्को मारेको छ । 

बैंकले समीक्षा अवधिमा १ खर्ब ४३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ ५५.१३ प्रतिशत र कर्जातर्फ ५२.११ प्रतिशतले प्रगति भएको देखिएको छ । 

बैंकको फी र कमिसनबाट हुने आयमा ४३.३८ प्रतिशत, ट्रेडिङ र अन्य संचालन आम्दानीतर्फ ५० प्रतिशत हाराहारीमा प्रगति गरेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १३ रुपैयाँ ८८ पैसा रहेको इपीएस बढेर समीक्षा अवधिसम्म १५ रुपैयाँ ३८ पैसाको उचाईमा पुगेको छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि पटक-पटक लगाइएको लकडाउनको प्रभाव बैंकको कर्जातर्फ देखिएको छ । जसको फलस्वरुप अघिल्लो वर्ष १.५५ प्रतिशत मात्र रहेको खराब कर्जाको अनुपात केही बढी २.७७ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा बैंकको क्यापिटल एडेक्वेसी रेसियो १३.८८ प्रतिशत, कस्ट अफ फण्ड ५.८५ प्रतिशत, सीडी रेसियो ७७.४२ प्रतिशत, बेस रेट ७.५५ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षसम्म ५.५ लाखमा सीमित ग्राहक संख्या बढेर १२ लाख पुगेको छ भने १०९ मा सीमित शाखा संख्या समेत बढेर १८९ को उचाईमा पुगेको छ ।