काठमाण्डौ । कोरोनाभाइरसको सन्त्रासका बीच चीनबाट एउटा राम्रो खबर सार्वजनिक भएको छ। यो केवल चीनका लागिमात्र होइन विश्वकै राम्रो खबर हो।

चीनका वरिष्ठ कोरोनाभइरस एक्सपर्ट डा झोङ नानशानले यो महामारी अब नियन्त्रणमा आउने दाबी गरेका छन्। उनको दाबी छ कि यो महामारी अबको ४ हप्तामा नियन्त्रणमा आउने पूरै विश्वमा पहिलेजस्तै सामान्य अवस्थामा आउनेछ। 

त्यसो चीनमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ घटिरहेको छ। ती एक्सपर्टका अनुसार आउँदो ४ हप्ता कोरोनाको त्रास पूर्ण रुपमा नियन्त्रणमा आउनेछ। 

चीन सरकारले कोरोना भाइरस नियन्त्रणका लागि बनाएको टोलीका प्रंमुख डा नानशानले कोरोनाभाइरसले अब चीनमा फेरि हमला गर्न नसक्ने बताए। डा नानशान कोरोना संक्रमित बिरामीको उपचारका संलग्न चिकित्सकहरुमध्ये एक विशेषज्ञ पनि हुन्। उनी यसअघि महामारीका रुपमा फैलिएको सार्स नियन्त्रण तथा रोकथामका प्रमुख पनि थिए। 

डेली मेलसँगको अन्तर्वार्तामा डा नानशानले चीनमा यो भाइरस नियन्त्रणका लागि बनाइएको मोनिटरिङ सिस्टमलाई निकै मजबुत बनाइएको बताए। ‘अब चीनमा यो भाइरसले फेरि आक्रमण गर्ने सम्भावना छैन र यसको प्रत्यक्ष लाभ विश्वभर हुनेछ’, उनले अन्तर्वार्ताका क्रममा भनेका छन्। 

डा नानशानले कोरोनासँग लड्ने दुई तरिका पनि बताएका छन्। पहिलो संक्रमणको दर सबैभन्दा कम स्तरमा लानुपर्छ। त्यसलाई बढ्न रोक्नुपर्छ । यसले गर्दा कोरोना भ्याक्सिन तयार गर्न समय र मद्दत मिल्नेछ । अनि यो महामारीलाई खतम गर्न सकिन्छ। 

दोस्रो तरिका भने यो संक्रमण फैलिन सक्ने सम्भावनालाई कम गर्नुपर्छ। जसका कारण बिरामीको संख्या कम हुन्छ। धेरै जसो देशले यो भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न उपाय अवलम्बन गरिरहेकोप्रति डा नानशानले खुसी व्यक्त गर्दै यिनै कारण अबको चार हप्तामा यो पूर्ण रुपमा नियन्त्रणमा आउने दाबी पनि गरेका हुन्। – एजेन्सी