काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले डोकेको आफ्नो २४ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ। 

कोभिड–१९ को नयाँ संक्रमणका कारण सरकारले निषेधाज्ञा जारी गरेको अवस्था र कोभिड–१९ को विषम परिस्थितिलाई ध्यानमा राखेर वार्षिक साधारणसभा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ। कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले अब अर्को निर्णय तथा सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो। 

यसअघि गत वैशाख ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही वैशाख ३१ गते काठमाण्डौको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा आयोजना गर्ने निर्णय गरेको थियो। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियाका आवश्यक सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव अनुमोदन गर्ने भनिएको थियो। सोही सभाबाट संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा महिला सञ्चालकको नियुक्ति अनुमोदन हुने भएको थियो। 

त्यस्तै नयाँ कार्यसमितिका लागि संस्थापक तथा सर्वसाधारण समूहबाट सञ्चालकहरुको निर्वाचन पनि सभाले गर्ने तयारी गरिको थियो।