काठमाण्डौ । तपाई एकाएक गम्भीर बिरामी पर्नुभयो । यति गम्भीर कि तपाई रहेको स्थानमा उपचार असंभव भयो र तत्काल हेलिकोप्टर चार्टर गरेर सुगम ठाउँमा जानुपर्ने भयो । यस्तो अवस्थामा तपाई कार्यरत संस्थाले नै सबै चिजको व्यवस्थापन गरिदेला भनेर सोच्नुहुन्छ ? बिरलैले मात्र सोच्लान् ।

यत्रो ठूलो सहयोग पाएर आफूले नयाँ जीवन पाइएला भनेर जुम्लाको सिमीकोटका खडग उपाध्यायले पनि सोचेका थिएनन् । तर, उनकै शब्दमा ‘कल्पनाभन्दा बाहिरको सहयोग’ उनी कार्यरत सिटिजन्स बैंकले गर्यो र कोभिड १९ बाट ग्रसित भई मृत्युको मुखमा परेका उनले समयमै उद्धार, उपचारसँगै नयाँ जीवन पाए ।‘म सिटिजन्स बैंकबाहेक अन्य कुनै बैंक वा कम्पनीमा काम गरिरहेको हुन्थे भने सायद मेरो उपचार संभव थिएन जस्तो लाग्छ ।’ आफू कार्यरत बैंकबाट अनपेक्षित सहयोग पाएपछि भावविह्वल भएका उपाध्यायले बिजशालासँग भने–‘म कार्यरत संस्था(बैंक)ले नपत्याउने सहयोग गर्यो । अरु कसैले यत्रो ठूलो सहयोग गर्दैनन् सर ।’ 

हुन पनि सिटिजन्स बैंकले आफ्नो विकट शाखामा कार्यरत सहायक स्तरका कर्मचारीको ज्यान जोगाउन कुनै कसर बाँकी राखेन । उपाध्यायको अवस्था एकाएक बिग्रिएपछि तत्काल काठमाण्डौ ल्याउनुपर्ने भयो । बैंकले कोभिड संकटका बेला कर्मचारीहरुको उद्धार, उपचार तथा सहयोग गर्नका लागि गठन गरेको क्वीक रेसपोन्स टिमले तुरुन्तै पहलकदमी लियो । हेलिकोप्टर चार्टर गरेर पठाइयो र उपाध्यायको उद्धार गरी काठमाण्डौ ल्याइयो ।

काठमाण्डौको मेडिसिटी अस्पतालमा राखेर स्तरीय उपचार गराइयो । हेलिकोप्टर चार्टरदेखि काठमाण्डौको हस्पिटल बसाईसम्मको लाखौं खर्चमा उपाध्यायले एक पैसा तिर्नुपरेन । 

‘म त आफूले पाएको सहयोग सम्झिएर चकित नै छु ।’ उनले फेरि बिजशालासँग भने–‘बैंकले मेरा लागि लाखौं खर्च गर्यो । अन्य संस्थामा यस्तो अप्ठ्यारो अवस्थामा यति ठूलो सहयोग पाउनु कल्पनाभन्दा बाहिरको कुरा हो ।’ 

उनले सिटिजन्स बैंकले संकटका बेला आफ्ना कर्मचारीलाई दिएको अभिभावकीय भूमिकाका लागि धन्यवाद समेत ज्ञापन गरेका छन् । ‘यस्तो संस्था हुने हो भने त दिनरात नभनी काम गर्न पनि जाँगर चल्छ । संकटमा कोही नभए पनि मेरो अभिभावक, मेरो संस्था छ भन्ने हुँदो रहेछ ।’ उनले थपे–‘मलाई गरिएको सहयोगका कारण सायद देशभरका सिटिजन्स बैंकका सदस्यहरुमा उत्साह थपिएको छ, उत्प्रेरणा मिलेको छ ।’ 

उपाध्याय एक उदाहरण मात्र हुन् । सिटिजन्स बैंकले कोभिड १९ को चपेटामा परेका आफ्ना कर्मचारीहरुको समयमै उपचार, उद्धार तथा हरसंभव राहातका लागि अपनाएको रणनीति उदाहरणीय छ ।

बैंकले कोभिडको पहिलो लहर सुरु भएदेखि नै मानव संसाधन विभागका सिनियर कर्मचारीसहितको संलग्नतामा क्वीक रेसपोन्स टिम बनाएको थियो । पहिलो लहरमा झै दोश्रो लहरमा पनि त्यही टिमले काम गरिरहेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका अनुसार क्वीक रेसपोन्स टिमले समस्यामा परेका कर्मचारीहरुको उद्धार, उपचार तथा राहातमा हरसंभव सहयोग गर्दै आएको छ । ‘सकेसम्म महामारीमा परेर हाम्रा कुनै पनि कर्मचारीले ज्यान गुमाउन नपरोस् भनेर हामीले उनीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’–सीइओ पोखरेलले बिजशालासँग भने ।

उनका अनुसार हालसम्म सिटिजन्स बैंकको मुख्य कार्यालय र देशभरका शाखा कार्यालयका १७७ जना कर्मचारी कोभिडको दोश्रो लहरको चपेटामा परेका छन् । तीमध्ये मेसेञ्जर, ड्राइभर र एक सुरक्षागार्ड गरी ३ जनाले ज्यान गुमाएका छन् । 

दोश्रो लहरमा हालसम्म कुल संक्रमित भएका १७७ मध्ये १२६ कर्मचारीले कोरोनाविरुद्धको लडाई जितिसकेका छन् । अझै ४८ जना सक्रिय संक्रमितको रुपमा रहेका छन् । 

सबैभन्दा बढी बागमति प्रदेशमा ९७ र लुम्बिनी प्रदेशमा ९६ जना कर्मचारी संक्रिमत भएका थिए । सबैभन्दा कम गण्डकीमा २ जना, प्रदेश २ मा ५ जना, सुदुरपश्चिममा ३ जना र प्रदेश ६ मा ७ जना कर्मचारी संक्रमणको चपेटामा परेका बैंकले जनाएको छ । 

बैंकको मुख्य कार्यालयमा गठित क्वीक रेसपोन्स टिमले प्रादेशिक कार्यालयहरुसँगको सहकार्यमा कोभिड संक्रमित कर्मचारीको स्वास्थ्यको विषयमा दैनिक अपडेट लिने गर्छ । कुनै कर्मचारीलाई अस्पताल, बेड वा अक्सिजन वा अन्य कुनैसहयोग आवश्यक भएमा त्यसको तुरुन्त व्यवस्थापन गरिन्छ । गम्भीर अवस्थाका कर्मचारीलाई कुनै विकट क्षेत्रबाट तत्काल उद्धार गर्ने गरी बैंकले केही हेलिकोप्टर कम्पनीहरुसँग समन्वय गर्दै आएको छ । 

राष्ट्रबैंकको निर्देशनअनुसार सबै कर्मचारीहरुको उपचार बैंकले नै व्यहोर्नुपर्ने हुन्छ । तर, सिमीकोट शाखाका उपाध्यायलाई जस्तो ठूलै खर्च हुने अवस्थामा समेत बैंक पछाडि नहट्ने र कर्मचारीको स्वास्थ्यलाई ठूलो सम्पत्तिको रुपमा लिएर सबै खालका उपाय लगाएर आफ्नो परिवारका सदस्यको ज्यान जोगाउनेतिर लाग्ने आफूहरुको कर्तव्य भएको सीइओ पोखरेल बताउँछन् । 

कोभिड संक्रमणबाट मुक्त भएका सिटिजन्सका कर्मचारीहरु बैंकको उच्च व्यवस्थापनको मीठो व्यवहार र बोलीले समेत आफूहरु उत्साहित हुने गरेको बताउँछन् । कर्मचारीहरुका अनुसार कोभिड संक्रमित भएका एक एकलाई प्रमुख कार्यकारी अधिकृत पोखरेलले आफैंले म्यासेज गरेर हालखबर सोध्छन्, कुनै समस्या भएमा आफू साथमा रहेको विश्वास दिलाउँछन् । ‘सीइओ आफैंले प्रत्येक संक्रमित कर्मचारीलाई म्यासेज गरेर हालखबर सोध्दा अर्कै उत्साह हुने रहेछ ।’ अर्को एक बैंकबाट केही महिनाअघि मात्र सिटिजन्समा आएर संक्रमित भएका बैंकका एक कर्मचारीले भने–‘अन्य संस्थाहरुमा टप लेभलबाटै प्रेमिल म्यासेज आउने र संकटमा आफू साथमा रहेको भरोसा दिलाउने गरेको मलाई थाहा छैन ।’

बैंकबाट हुने गरेको प्रत्येक दिनको केयरले आफूहरुको मनोबल बढेको कर्मचारीहरु बताउँछन् । 

पछिल्लो तथ्याङ्कअनुसार कोरोनाको दोश्रो लहरमा बैंक तथा वित्तीय संस्थाका ८ हजार २ सय बढी कर्मचारी संक्रमित भएका छन् । तीमध्ये केहीको ज्यान समेत गएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको उपचार खर्च आफैंले व्यहोरिरहेका छन् । तर, सिटिजन्स बैंकलेजस्तो पारिवारिक स्नेह र केयरिङ निकै कम संस्थाले मात्र गर्ने गरेका देखिएको छ ।