काठमाण्डौ । कोभिड १९ भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई बाधा अवरोध गर्नेहरुलाई ६ महिनासम्मको जेल सजाय हुने भएको छ । 

मन्त्रीपरिषदले गरेको निर्णय र त्यसपछि आएको लिखित निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खटिएका चिकित्स, नर्स र अन्य स्वास्थ्यकर्मीहरुको काममा वाधा अवरोध गर्नेलाई संक्रामक रोग ऐनमा भएको व्यवस्था अनुसार अधिकृत व्यक्तिहरुलाई काममा बाधा पुर्याउनेलाई जस्तो कारबाही हुन्छ सोही अनुसारको कारबाही गर्ने निर्णय गरेको हो । 

चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रबन्ध मिलाउन यस्तो व्यवस्था उल्लेख गरिएको जानकारी दिंदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

'चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको सुरक्षा व्यवस्था गृहमन्त्रालयले मिलाउनेछ ।' डा. देवकोटाले भने-'कसैले बाधा विरोध गरेमा ड्यूटीमा खटिएका सुरक्षाकर्मीको काममा बाधा अवरोध गर्दा जस्तो सजाय हुन्छ, स्वास्थ्यकर्मीको काममा बाधा अवरोध गर्नेलाई पनि त्यस्तै सजाय हुनेछ ।' 

संक्रामक रोग ऐन २०२० ले अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु. ६००।– सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । अब स्वास्थ्यकर्मीको काममा अवरोध गराउनेहरु उपर समेत यही कारबाही हुनेछ । 

यस्तै, स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको उपचारमामा खटिएका चिकित्स, नर्स र प्राविधिकहरुलाई आवश्यक पीपीई तथा अन्य स्वास्थ्य उपकरण यथेष्ठ उपलब्ध गराउने र प्रोत्साहनको विशेष व्यवस्था गर्ने समेत निर्णय गरेको छ ।