काठमाण्डौ । कोरोना भाइरस(कोभिड १९)बाट मर्नेको संख्या दिनहुँ बढिरहेको छ । विश्वभर यो भाइरसको संक्रमणले आतंक मच्चाएको छ । संभावित संक्रमणबाट बच्न विश्वका अधिकांश मुलुकले अहिले लकडाउन गरेका छन्, विश्वको कुल जनसंख्यामध्ये एकतिहाई बढी मानिस घरभित्र थुनिएका छन् । 

यो बेला मानिसहरुको आँखा र चासो कोरोनाबाट मर्नेहरुको संख्यामा मात्र परिरहेको छ र यही संख्यालाई हेरेर सर्वसाधारण त्रसित भइरहेका छन् । तर, कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या भन्दा निको हुनेको संख्या भने धेरै माथि रहेको छ । 

विश्व स्वास्थ्य संगठनको ताजा तथ्यांक अनुसार मंगलबार साँझसम्म विश्वभर कोेभिड १९ बाट ४ लाख ७ हजार बढी संक्रमित भइसकेका छन् । 

संक्रमितमध्ये १८ हजार २५० को मृत्यु भइसकेको छ । तर, कुल संक्रमित हुनेहरुमध्ये निको भएर घर फर्किनेको संख्या १ लाख ४ हजार ७१४ भन्दा बढी रहेको छ । 

हालसम्मको अवस्था हेर्दा कुल संक्रमितमध्ये १५ प्रतिशतको ज्यान गएको छ । ८५ प्रतिशत संक्रमित उपचारपछि घर फर्किएका छन् । 

मृत्यु हुने र निको भएर घर फर्किनेबाहेक २ लाख ८४ हजार बढी यो भाइरसबाट संक्रमित छन् । संक्रमितमध्ये ९६ प्रतिशत बिरामीको अवस्था मध्यम छ भने ४ प्रतिशत मात्र गम्भीर अवस्थामा रहेको बताइएको छ । 

तर, विश्वमा आतंक मच्चाउने गरी हालसम्म फैलिएका मुख्य भाइरसहरुको तुलनामा कोभिड १९ को मृत्यु दर निकै न्यून छ । 

जस्तो, १९७६ मा फैलिएको इबोलाको मृत्युदर ४०.४ प्रतिशत, १९९८ मा देखिएको निपाह भाइरसको मृत्युदर ७७.६ प्रतिशत, २००२ मा फैलिएको सार्स भाइरसको मृत्युदर ९.६ प्रतिशत २०१२ मा फैलिएको मर्स भाइरसको ३४.४ प्रतिशत र कोभिड १९ को मृत्यु दर ४.४ प्रतिशत मात्र रहेको छ । 

कोभिड १९ को मृत्युदर कम भए पनि यसले प्रभाव पारेका देश, मर्नेको संख्या भने अन्य भाइरसको तुलनामा बढी छ ।