काठमाण्डौ । कोभिड–१९ को संक्रमण सुनामीको गतिमा फैलिइरहेको इटलीमा आज पनि मृत्यु हुनेको संख्या सबैभन्दा उच्च देखिएको छ । 

यो भाइरसको संक्रमणबाट इटलीमा आज एकैदिन ७४३ बढीको ज्यान गएको छ । योसहित इटलीमा हालसम्म यो भाइरसको संक्रमणबाट मर्नेको संख्या ६ हजार ८२० पुगेको छ । 

यो संख्या भनेको कोभिड १९ भाइरसको उद्गमस्थल चीनमा भएको क्षतिभन्दा दोब्बर बढी हो । चीनमा हालसम्म कोभिड १९ बाट ३२ सय ७७ को मात्र मृत्यु भएको छ । 

इटलीमा हालसम्म ६९ हजार बढीमा यो भाइरसको संक्रमण भेटिएको छ । संक्रमितमध्ये मंगलबार मात्रै  ५ हजार २४९ नयाँ संक्रमित थपिएका छन् । दैनिकजसो मृत्यु हुने संख्यासँगै नयाँ संक्रमितको संख्या पनि यहाँ बढिरहेको छ । 

इटलीमा हालसम्म ८ हजार ३ सय बढी संक्रमित मात्र निको भएर घर फर्किएका छन् । मंगलबारसम्ममा ३४०० बढी संक्रमित गम्भीर अवस्थामा अस्पतालका बेडहरुमा छटपटाइरहेका छन् । 

पछिल्लो समय इटलीपछि स्पेनमा समेत यो भाइरसको संक्रमण भूसको आगो झै फैलिइरहेको छ । स्पेनमा पनि मंगलबार मात्रै संक्रमितमध्ये ४८९ जनाको मृत्यु भएको छ । स्पेनमा हालसम्म मृत्यु हुनेको संख्या २८०० पुगेको छ । 

मंगलबार इरानमा १२२, बेलायतमा ८७, अमेरिकामा ६९, नेदरल्याण्डमा ६३ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या बढेसँगै मंगलबार मात्र विश्वभर १ हजार ७४३ जनाले ज्यान गुमाई हालसम्म कोभिड १९ बाट मर्नेको कुल संख्या १८ हजार २५० माथि पुगेको छ । 

ताजा तथ्यांकलाई हेर्दा नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकामा फेला परिरहेका छन् । मंगलबार पनि अमेरिकामा सबैभन्दा धेरै ५ हजार ८६० नयाँ संक्रमित भेटिए । स्पेनमा ४५४०, जर्मनीमा २९३५, इरानमा १७६२, बेलायतमा १४२७, नेदरल्याण्डमा ८११, अष्टियामा ५३६, बेल्जियममा ५२६, पोर्चुगलमा ३०२, अस्टेलियामा २५७, स्वेडेनमा २४०, इजरायलमा २१४, लक्जमबर्गमा २२४, साउदी अरेबियमा २०५ नयाँ संक्रमित भेटिएका छन् । 
छिमेकी देश भारतमा यो दिन २० जना नयाँ संक्रमित फेला परे भने त्यहाँ कसैको पनि मृत्यु भएन । हालसम्म भारतमा १० संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म त्यहाँ ५१९ वटा संक्रमणका केस फेला परेका छन् । 

उत्तरतर्फको छिमेकी चीनमा मंगलबार ७ संक्रमितको मृत्यु भएको छ भने ७८ जना मात्रै नयाँ संक्रमित फेला परेका छन् ।