काठमाण्डौ । कुनै स्वास्थ्य संकट वा महामारीको चपेटामा परेको बेला तपाई कार्यरत कार्यालयले सामान्यभन्दा सामान्य खर्च व्यहोर्नेदेखि लाखौं खर्च गरी हेलिकोप्टरको माध्यमबाट उद्धार गर्नेसम्मको सुविधा दिन्छ भनेर सोच्नुहुन्छ ? नेपालजस्तो विकासोन्मुख देशमा, त्यो पनि सरकारका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीले यति धेरै सुविधा पाइएला भनेर सायदै सोच्दैनन् । ठूला बैंक, कर्पोरेट हाउसहरुले मात्र कर्मचारीलाई सबैभन्दा बढी प्राथमिकता दिएर उनीहरुको ज्यान बचाउन र वृतिविकासमा लाखौं रुपैयाँ खर्च गर्न तयार हुन्छन् भन्ने धेरैलाई लाग्नसक्छ । 

तर, नेपाल सरकारकै लगानी रहेका केही सार्वजनिक संस्थानहरुले यस्ता कुशल व्यवस्थापक पाएका छन्, जसको नेतृत्वदायी भूमिकाका कारण कोभिड १९ जस्तो महामारीसँग जुध्न त्यस्ता कार्यालयमा कार्यरत कर्मचारीहरुलाई निकै सहज भएको छ । अभिभावकको जस्तो केयरिङ र कर्मचारीलाई बचाउन सबै खालका विकल्पमा समेत जान तयार हुने नेपाल टेलिकम व्यवस्थापनको राम्रो रणनीतिका कारण यहाँ कार्यरत देशभरका कर्मचारी कोभिडका बेला समेत उत्साहित बनेका छन् । 

कोभिडको समयमा नेपाल टेलिकमले देशका कुनै पनि सार्वजनिक संस्थानहरुले गर्न नसकेका केही राम्रा काम गरेको देखिएको छ ।

कुनै कर्मचारीको ज्यान नै जोखिममा पर्यो भने हेलिकोप्टरबाट उद्धार गर्नेदेखि लिएर कसैको ज्यान गयो भने उसका परिवारलाई अतिरिक्त क्षतिपूर्ति उपलब्ध गराउनेसम्मका केही नौला काम टेलिकमले गरिरहेको छ । 

देशभर कुल ४ हजारको संख्यामा रहेका कर्मचारीमध्ये कोरोनाको पहिलो र दोश्रो लहरबाट टेलिकमका ७१६ कर्मचारी प्रभावित भए । तीमध्ये ५० जना निकै गम्भीर बने भने दुवै लहरका क्रममा ७ जनाको ज्यान गयो । 

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार पहिलो लहरमा  जना कर्मचारीले ज्यान गुमाएका थिए भने दोश्रो लहरमा जनाले ज्यान गुमाउनुपर्यो । 

दोश्रो लहर सुरु हुनुअघि टेलिकमले धेरै कर्मचारीलाई खोप लगाउने व्यवस्था समेत मिलाएको थियो ।  ‘वास्तवमा खोपको प्रभावकारिता रहेछ भन्ने यसबाट देखियो ।’ उनले भने–‘हाम्रा कर्मचारीमध्ये धेरैले सामान्य रुघाखोकीको जस्तै मात्र दुःख पाएर कोरोनालाई जिते । जतिको ज्यान गयो ती सबै खोप नलगाउने कर्मचारी थिए । यस्तै, गम्भीर भएर भेन्टिलेटर र आइसियू पुगेकामध्ये पनि अधिकांशले खोप लगाएका थिएनन् ।’ 

टेलिकमले कोरोना संक्रमण सुरु भएदेखि नै कर्मचारीको सबै उपचार व्यवस्थापनको दायीत्व लिएको थियो । जसअन्तर्गत कोभिडको पीसीआर परीक्षणदेखि हस्पिटलको बिलसम्म टेलिकमले नै तिरिदिने व्यवस्था गर्यो । कसैलाई हेलिकोप्टरबाटै उद्धार गर्नुपरे पनि त्यसको समेत व्यवस्थापन गरियो । 

टेलिकमले कोभिड १९ बाट संक्रमित आफ्ना कर्मचारीहरुलाई अस्पताल बस्दाको खर्च समेत व्यहोर्ने निर्णय गर्यो । ‘यसका लागि अधिकतम ३ लाखसम्मको बिल टेलिकमबाटै कर्मचारीले राहातको रुपमा पाउने निर्णय गरिएको थियो । तर धेरैको बिल १ लाखभन्दा कम नै आयो ।’ प्रबन्ध निर्देशक अधिकारीले भने–‘यसका लागि हामीले कोभिड रेसपोन्स कोष बनायौं र कोभिडका क्रममा सिर्जना भएका दायीत्वहरु यही कोषले सम्बोधन गर्यो । कोभिड व्यवस्थापनका लागि, कर्मचारीको स्वास्थ्य परीक्षण, उपचार र क्षतिपूर्तिका लागि कोभिड रेसपोन्स कोषले सहयोग गर्यो ।’ 

टेलिकमले कोभिडको संक्रमण सुरु भएदेखि नै प्रशासन प्रमुखको संयोजकत्वमा कोभिड रेसपोन्स टिम बनायो । यही टिमअन्तर्गत रहेर प्रदेश तथा जिल्लाका कार्यालय प्रमुखहरुले समेत आफ्ना कर्मचारीको राम्रो ‘टेक केयर’ गरे । ‘मैले सबै क्षेत्रका हाकिम सा’बहरुलाई कोभिड संक्रमित कर्मचारीहरुको उपचार व्यवस्थापन र केयरिङमा कुनै कमी नहोस् भनेर निर्देशन नै दिएको छु ।’ अधिकारीले भने–‘कर्मचारीहरुको अवस्था, संक्रमितको संख्या, उनीहरुको उपचारको व्यवस्था लगायतका विषयमा केन्द्रीय कार्यालयमा गठन भएको टिमले दैनिक रुपमा अपडेट लिँदै काम गरिरहेको छ ।’ 

आफ्नो जानकारीमा आएसम्म र थाहा भएसम्मका कर्मचारीहरुलाई अधिकारी आफैंले पनि फोन गरेर ढाडस दिने गरेका छन् । ‘संकटमा कर्मचारीको साथमा सिंगो नेपाल टेलिकम छ भनेर ढाडस दिंदा धेरै साथीहरुको मनोबल उच्च भएको मैले पाएको छु ।’ उनले भने–‘अत्यावश्यक सेवा अवरुद्ध नहोस् भनेर यस्तो जोखिमका बेला पनि खटिने कर्मचारीहरुको स्वास्थ्य सुरक्षा हाम्रो पहिलो प्राथमिकतामा छ ।’ 

केन्द्रीय कार्यालयको कोभिड रेसपोन्स टिमकै समन्वयमा टेलिकमले सबै कर्मचारीको पीसीआर परीक्षण निःशुल्क गराएको थियो, यसका लागि टेण्डर गरेर फर्म नै छनौट गरिएको थियो । 

टिमले कर्मचारीहरु गम्भीर भए भने उनीहरुको उपचारका लागि भनेर काठमाण्डौका स्टार, ह्याम्स, बयोधा लगायतका अस्पतालसँग सम्झौता समेत गरेको थियो । ती अस्पतालमा अक्सिजनको चरम अभाव हुँदा आफ्ना कर्मचारी बचाउन प्रबन्ध निर्देशकदेखि उच्च तहका कर्मचारीहरु दिनरात नभनी आफैं खटिएर समेत अक्सिजनका सिलिण्डर खोज्ने काम गरे । ‘अक्सिजनको अप्ठ्यारो अहिले भने छैन ।’–अधिकारीले थपे । 

टेलिकमले कोरोनाबाट संक्रमितहरुलाई राहात होस् भन्ने उद्देश्यले सबै कर्मचारीहरुको ‘कोभिड बीमा’ समेत गराएको थियो । टेलिकमको कर्मचारी नियमावलीअनुसार दुर्घटना बीमा, जीवन बीमा, स्वास्थ्य बीमा लगायतका स्किम पहिलादेखि नै उपलब्ध थिए । त्यसबाहेक कोभिडलाई नै लक्षित गरी ३ लाखसम्मको अतिरिक्त उपचार खर्च, मृत्यु भएमा थप १० लाख क्षतिपूर्ति लगायतको नौलो स्किम ल्याइएको अधिकारी बताउँछन् । अतिरिक्त उपचार खर्च र केही भइहाले परिवारजनलाई १० लाख थप क्षतिपूर्ति दिनेजस्ता स्किमले फिल्डमा खटिएर काम गर्नेहरु समेत उत्साहित बनेका टेलिकमका कर्मचारी बताउँछन् । ‘अत्यावश्यक सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन महामारीको बेला समेत फिल्डमा खटिनै पर्यो ।’ एक कर्मचारीले भने–‘भोलि आफूलाई केही भइहाले पनि कम्पनीले परिवारजनलाई आर्थिक सुुरक्षा दिन्छ भन्ने थाहा पाउँदा केही सन्तोष हुँदो रहेछ ।’ 

टेलिकमले कोभिडका कारण मात्र नभई फिल्डमा खटिने क्रममा दुर्घटनामा परेर वा रोग लागेर गम्भीर अवस्थामा पुग्ने कर्मचारीहरुलाई फिल्डबाटै हेलिकोप्टरको मद्धतले उद्धार गर्ने काम पनि गर्दै आएको छ । यो आर्थिक वर्षमा मात्रै त्यस्ता ३ कर्मचारीलाई हेलिकोप्टर पठाएर उद्धार गरी स्तरीय उपचारपछि ज्यान जोगिएको अधिकारी बताउँछन्।

नेपाल सरकारका कुनै पनि संस्थानहरुले टेलिकमले जस्तो कोभिडको बेला थप राहात, अतिरिक्त उपचार खर्च जस्ता सुविधा दिएका छैनन् । आफ्नो लागि कर्मचारीको स्वास्थ्य सुरक्षा र उनीहरुको प्रोत्साहन ठूलो कुरा भएकोले इन्सेन्टिभ तथा राहात स्किम ल्याइएको प्रबन्ध निर्देशक अधिकारी बताउँछन् । 

‘हाम्रा कर्मचारीलाई केही भइहाले सिंगो टेलिकम साथमा छ ।’ उनले भने–‘कोही कर्मचारी जस्तोसुकै गम्भीर किन नहोस्, पैसाको अंकतिर ध्यान नदिई उसलाई बचाउनका लागि आवश्यक सबै विकल्पमा जान हामी तयार छौं र अहिलेसम्म त्यही गर्दै आएका छौं ।’