काठमाण्डौ । आर्थिक वर्ष २०२१/२२ मा भारतको आर्थिक वृद्धिदर ९.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । भारतको प्रमुख उद्योग चेम्बरले(सीआईआई)ले सन् २०२१/२२ मा भारतको आर्थिक वृद्धिदर ९.५ प्रतिशत रहने प्रक्षेपण गरेको हो । 

अल्ट्रा हाई फ्रिक्वोइन्सी इन्डिकेटरले कोभिडको दोस्रो लहरपश्चात भारतको जीडीपी वृद्धिमा तीव्र रिकभरी हुने संकते गरेको जनाइएको छ । 

मोबिलिटी इन्डीकेटर, यातायातसँग जोडिएको इन्डेक्स तथा दैनिक रेल यात्रामा हुने बढोत्तरीको दृष्टिकोणबाट यो आर्थिक वर्षमा भारतको वृद्धिदर ९.५ प्रतिशत रहनसक्ने अनुमान गरिएको छ । 

यस्तै स्विस ब्रोकेरेज फर्म युुबीएस सेक्युरिटिजले भने जून महिनाको त्रैमासमा भारतको जीडीपी १२ प्रतिशत घट्ने अनुमान गरेको छ । फर्मका अनुसार कोरोनाको दोस्रो लहरका क्रममा अप्रिल र मे महिनामा गरिएको लकडाउनका कारण यस्तो भएको हो । गत वर्ष यही अवधिमा भारतको जीडीपीमा २३.९ प्रतिशतको कमी आएको थियो । 

सीआईआईका अध्यक्ष टी वी नरेन्द्रनका अनुसार सरकारका तर्फबाट गरिएका खर्च, अर्थतन्त्रको सुधारका लागि गरिएका प्रयासहरु र खोप अभियानका कारण सन् २०२४/२५ सम्म भारतको आर्थिक वृद्धिदर ९ प्रतिशतसम्म पुुग्न सक्छ । 

कोरोनाका कारण घटेको मानिसहरुको आम्दानीका कारण केही समयका लागि वस्तु तथा सेवाको मागमा कमी आउने बताइएको छ । अहिले भारतमा स्वास्थ्य उपचारको खर्चमा भने बढोत्तरी आइरहेको छ। 

नरेन्द्रनका अनुसार अर्थतन्त्रको पुनरुत्थानका लागि भारत सरकारले ३ लाख करोड भारतीय रुपैयाँबराबरको राहत प्याकेज घोषणा गर्न सक्छ । यो रकम समाजका कमजोर आर्थिक अवस्था भएकाहरुलाई प्रत्यक्ष रुपमा प्रदान गरिनेछ । यसका अलावा जीएसटीमा पनि केही समयका लागि कटौति गर्न सकिने उल्लेख गरिएको छ । 

युुयसबी सेक्युरिटिजका अनुसार गत वर्ष लकडाउन हटेपछि भारतको अर्थतन्त्रमा जुन भि सेपको रिकभरी देखिएको थियो, त्यो यसपटक भने देखिने छैन ।