काठमाण्डौ । कोरोनाभाइरसको असर अहिले विश्व अर्थतन्त्र डामाडोल बनेको छ। यसले सबै क्षेत्रमा नराम्रो प्रभाव पारेको छ। विशेषगरी अटो सेक्टर कोरोनाभाइरसको प्रकोपबाट अतिप्रभावित बनेको छ। 

कोरोनाभाइरसकै प्रभावका कारण भारतका ठूला गाडी निर्माता कम्पनी मारुती सुजुकी र महिन्द्रा एन्ड महिन्द्राले आफ्नो उत्पादन बन्द गरेका छन्। 

भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले दिल्लीको गुडगाउँ र मानेसरस्थित कारखानामा उत्पादन बन्द गरेको छ। यी दुवै कारखानाबाट वार्षिक साढे १५ लाख युनिट कार उत्पादन हुने गरेको छ। 

त्यस्तै कम्पनीले रोहतकस्थित अनुसन्धान एवं विकास केन्द्रको काम पनि बन्द गरेको छ। 

महिन्द्रा एन्ड महिन्द्राले भारतको नागपुर प्लान्ट बन्द गरेको छ। त्यस्तै चाकन र कान्दिविली प्लान्टबाट सोमबार रातिदेखि गाडी उत्पादन बन्द गरिने कम्पनीले जनाएको छ। कम्पनीले आफ्नो कार्यालयहरुमा कार्यरत कर्मचारी घरबाटै काम गर्न निर्देशन दिइसकेको छ। 

दुईपांग्रे गाडी बनाउने हिरो मोटोकर्पले पनि भारसहित विश्वभर रहेका आफ्ना उत्पादन प्लान्ट मार्च ३१ सम्मका लागि बन्द गर्ने घोषणा गरेको छ। – एजेन्सी