काठमाण्डौ । विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघिसकेको छ। केवल ६ महिनाअघिबाट देखिएको यो भाइरसबाट हालसम्म ५ लाख मानिसले ज्यान गुमाइसकेका छन्।

यो भाइरसका कारण थुप्रै क्षेत्रका स्वास्थ्य सेवा धर्मराएका छन्। अर्थव्यवस्था निकै प्रभावित भएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने अझै पनि यो भाइरसबाट डरलाग्दो स्वरुप अगाडि आइनसकेको जनाएको छ। डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहनोम गिबे्रएससले अझै पनि यो भाइरसको खतरनाक स्वरुप अगाडि आइनसकेकोले यदि विश्वभरका सरकारहरुले सही नीति अवलम्बन नगरे अझै थुप्रै मानिस प्रभावित हुने चतावनी दिएका छन्। ‘हामी सबै चाहन्छौँ कि यो भाइरसको कहर अन्त्य होस्, हामी सबै आफ्नो सामान्य दैनिकी सुरुआत गर्न चाहन्छौँ’, एउटा भर्चुअल प्रेस ब्रिफिङमा उनले भने, ‘तर यथार्थ कुरा यो हो कि हामी अझै यो भाइरसमाथि जित हासिल गर्नबाट धेरै टाढा छौँ।’

प्रमुख टेड्रोसले केही देशमा यो भाइरस नियन्त्रणमा प्रगति देखिए पनि अझै अन्य देशमा तीव्रगतिमा फैलिरहेको बताए। ‘विश्वभर यो भाइरबाट १ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन्, यस्तो अवस्थामा समस्या सुल्झाउनुको साटो राष्ट्रिय एकतामा कमी, विश्वस्तरमा एकजुट कमी र विभिन्न कारणले आपसमा टकराव गरेकै कारण यो भाइरसले झनै फैलिने मौका पाएको छ’, उनले भने, ‘त्यसैले यो भाइरसबाट उत्पन्न हुन सक्ने डरलाग्दो संकट अझै बाँकी नै छ।’

टेड्रोसले जर्मनी, दक्षिण कोरिया र जापानजस्ता देशले अवलम्बन गरेको नीति अपनाउन अन्य देशहरुलाई सुझाएका छन्। जहाँ टेस्टिङ र ट्रेसिङलाई यो भाइरस नियन्त्रणका लागि मुख्य रुपमा अवलम्बन गरिएको छ। – एजेन्सी