काठमाण्डौ । विश्व महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एउटा टोली चीन पठाउने भएको छ।

डब्ल्यूएचओले आउँदा साता एउटा टोली चीन पठाइने जनाएको छ। यो टोलीले विश्वभर महामारीको प्रकोप लिएको यो भाइरस वास्तविक रुपमा कहाँबाट आएको भन्ने विषयमा अनुसन्धान गर्ने डब्ल्यूएचओले जनाएको छ। 

डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहनोम गिब्रेएससले एउटा भर्चुअल प्रेस कन्फ्रेन्सका क्रममा जब यो भाइरसका विषयमा सबै कुरा पत्ता लाग्छ तबमात्र योविरुद्ध सही ढंगले लड्न सकिने स्पष्ट पारेका छन्। ‘हामी आउँदो साता एउटा टोली चीन पठाउँदैछौँ र हामीलाई आशा छ कि यो टोलीले भाइरसको उत्पत्तिका विषयमा पत्ता लगाउनेछ’, उनले भने। 

डब्ल्यूएचओले चीन पठाइने टोलीमा को–को रहने भन्ने विषयमा स्पष्ट जानकारी भने गराएका छैन्। त्यस्तै यो टोलीको मुख्य उद्देश्य के–के हुने भन्ने विषयमा पनि डब्ल्यूएचओले खुलस्त पारेको छैन। 

वैज्ञानिकहरुले यो भाइरस जनवरबाट मानिसमा सरेको बताउँदै आएका छन्। यो भाइरस चीन वुहान सहरस्थित मासु बजारबाट विश्वभर फैलिएको बताइएको छ । – एजेन्सी