काठमाण्डौ । फाइजर कम्पनीले कोरोना भाइरसविरुद्धको खोप तयार गरेको खबर बाहिरिएसँगै अमेरिकी सेयर बजारमा उछाल आएको छ।

डाउ जोन्स इन्डस्ट्रियल एभरेज १६१० अंकसम्म बढे पनि सम्हालिएर १ हजार अंकको बढोत्तरीसहित बन्द भएको सिएनएन मनीले जनाएको छ। सोमबार एकैदिन अमेरिकी सेयर बजार ४.४ प्रतिशतले बढेको हो। 

डाउ एकैदिन यति धेरै अंकले बढेको यो नै पहिलोपटक रहेको समाचारमा जनाइएको छ । डाउको यो बढोत्तरी यो वर्षकै सुखद दिन रहेको समेत सिएनएनले जनाएको छ । 

यो दिन अर्को बजार परिसूचक एस एण्ड पी  ३.३ प्रतिशतले बढेको छ । अप्रीलदेखिकै सबैभन्दा बढी अंकले एस एण्ड पी बढेको सोमबार नै रहेको समाचारमा उल्लेख गरिएको छ । 

यस्तै, नेस्डेक कम्पोजिटमा पनि १.३ प्रतिशतले बढोत्तरीका साथ कारोबार सुरु भएको थियो । नेस्डेक सेप्टेम्बरको अलटाइम हाईभन्दा अझै तल छ, तर खोरोनाविरुद्धको खोपको विकास भएको खबरले अलटाइम हाईलाई क्रस गर्न धेरै समय नलाग्ने देखिएको विश्लेषकहरुले बताएका छन् । 

फाइजर कम्पनीका प्रमुखले सोमबार मात्रै कोरोनाविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी प्रमाणित भएको उल्लेख गर्दै निकट भविष्यमै सर्वसाधारणको प्रयोगका लागि ल्याउने बताएपछि त्यसले विश्व बजारमै हलचल मच्चाइदिएको हो । कोरोना भाइरस महामारी यो शताब्दीकै सबैभन्दा प्यानिक महामारी भएका कारण समेत यसविरुद्धको खोप तयार हुँदा लगानीकर्ताहरुको मनोबलमा अभूतपूर्व उत्साह देखिएको हो ।