काठमाण्डौ । औषधि निर्माता कम्पनी फाइजरले कोरोनाविरुद्धको खोप तयार भएको र त्यो खोप ९० प्रतिशत प्रभावकारी प्रमाणित भएको घोषणा गरेसँगै विश्वको सेयर बजारमा हलचल पैदा भएको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमै धक्का लागेसँगै लगानीकर्ताको मनोबल समेत कमजोर बनिरहेको थियो । यस्तो अवस्थामा एकाएक आशा जगाउने निकै भरपर्दो समाचार सार्वजनिक भएसँगै विश्वको सेयर बजारमा ऐतिहासिक उछालहरु आएका हुन् । 

अमेरिकाको डाउ जोन्स एकैदिन ४.५ प्रतिशतले बढ्यो भने एस एण्ड पी  फ्यूचर्स ३.५ प्रतिशत तथा नास्डेग कम्पोजिट १.५ प्रतिशतले उचालियो । गत शुक्रबार अमेरिकी सेयर बजारका परिसूचकहरु लगभग स्थिर अवस्थामै बन्द भएका थिए । 

लण्डनको बजार परिसूचक एफटीएसई १००(यूकेएक्स) ४.७ प्रतिशतले बढ्यो भने जर्मनीको बजार परिसूचक ड्याक्समा ५.४ प्रतिशतको उछाल आयो ।

यस्तै, फ्रान्सको सेयर बजार परिसूचक एकैदिन ७ प्रतिशत भन्दा बढीले उछालको गतिमा दौडिएको छ । 

ब्रेन्ट क्रूडको मूल्य ८ प्रतिशतले बढेर प्रति ब्यारेल ४२.४५ डलरमा बन्द भयो ।

कोरोनाविरुद्धको खोप जर्जर अवस्थामा पुगेको तेल उद्योगका लागि सञ्जिवनी बुटी साबित हुने विश्लेषकहरुले बताइरहेका छन् । यस्तै, लामो समयदेखि अनिश्चितताको भूमरीमा परेका सेयर बजारका लगानीकर्ताहरुलाई समेत खोप बनेको खबरले निकै ठूलो राहात दिएको छ । 

अमेरिका लगायत कतिपय देशको सेयर बजार परिसूचक बढ्नुमा जो बाइडेन अमेरिकी राष्टपतिमा निर्वाचित भएसँगै राजनीतिक स्थिरताको आशा पनि एउटा कारण रहेको बताए पनि विश्वका सबै सेयर बजारमा उछाल आउनु पछाडिको कारण भने खोप नै रहेको दाबी गरिएको छ।

फाइजर कम्पनीले जर्मन पार्ट बायोनटेकसँग मिलेर कोरोनाविरुद्धको खोप तयार गरेको हो । कम्पनीले तयार खोपलाई आकस्मिक प्रयोगका लागि अमेरिकाको फूड एण्ड डग एडमिनिस्ट्रेसनसँग अनुमति माग्ने बताइसकेको छ ।