काठमाण्डौ। दक्षिण अफ्रिाकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएसँगै विश्वभरका सेयर बजार र तेलको मूल्यमा गिरावट आएको छ।

कोरोनाको नयाँ भेरियन्ट देखिएको खबर फैलिएसँगै अमेरिकी सेयर बजार डो फ्युचर्स र तेलको मूल्य ६ प्रतिशतले ओरालो लागेको हो। हङकङको सेयर बजार ह्याग सेङ इन्डेक्स(एचएसआई)२.७ प्रतिशतले घटेको छ। यस्तै जापानको निक्की२२५(एन२२५) २.५, युरोपको एफटीएसई१०० र फ्रान्सको सीएसी४० समान २.५ र जर्मनीको ड्याक्स(डीएएक्स)३ प्रतिशतले घटेको छ। 

थ्याङक्स गिभिङका लागि बिहीबार बन्द रहेको अमेरिकी सेयर बजार डो फ्युचर्स शुक्रबारको सुरुआती चरणमा ७०० अंकभन्दा बढी अर्थात २ प्रतिशतले घट्यो। यस्तै ५०० (आईएनएक्स) र नास्डक पनि १.६ र १ प्रतिशतले ओरालो लागे। 

नयाँ भेरियन्टको भयले अमेरिकी तेल बजार पनि प्रभावित बन्यो। अमेरिकी तेलको मूल्यमा ६ प्रतिशतको गिरावट आयो। यस्तै ग्लोबल आयल बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ ५ प्रतिशतले घट्यो। 

बिहीबार दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्रीले देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएको र यो तीव्र गतिमा देशका विभिन्न भागमा फैलिरहेको बताएका थिए। यो नयाँ भेरियन्ट बोत्सवाना, हङकङ र इजरायलमा समेत देखिएको जनाइएको छ। 

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभेदले यो नयाँ भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा तीव्र गतिमा फैलिने र कोरोनाविरुद्धको खोप पनि प्रभावकारी नहुने बताएका छन्। दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट देखिएपछि बेलायतले ६ वटा अफ्रिकी देशको हवाई उडानमा प्रतिबन्ध लगाएको छ। युरोपेली युनियनका अन्य देशहरुले पनि यस्तो प्रतिबन्ध लगाउने तयारीमा रहेका छन्। 

ओएन्डामा एसिया प्यासेफिक क्षेत्रका लागि सिनियर मार्केट एनालिस्टका रुपमा कार्यरत जेफ्री हालेले कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण लगानीकर्ताहरु भयभित भएको आफ्नो रिसर्च नोटमा उल्लेख गरेका छन्। 

युरोपमा कोरोना संक्रमणका केसहरुमा देखिएको वृद्धिलाई अर्थशास्त्रीहरुले यस अघिदेखि नै नजिकबाट नियालिरहेका थिए। आर्थिक वृद्धिमाथि मन्दी र आपूर्ति शृंखलाको बादल मडारिएका बेला केही देशहरुले संक्रमणको फैलावट रोक्नका लागि नयाँ प्रतिबन्धहरु जारी गरेका छन्। 

‘युरोपको मुख्य भागमा अहिले देखिएको संक्रमणको लहरभन्दा दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्टले चिन्ता बढाइदिएको छ’, बेरेनबर्ग बैंकका अर्थशास्त्रीहरुले बताएका छन्। – एजेन्सी