काठमाण्डौ । कोरोना संक्रमणको आशंका गरिएका जोखिमपूर्ण बिरामीहरुलाई अब सरकारले सुरक्षासाथ नियन्त्रणमा लिएर आइसोलेसनमा राख्ने भएको छ । 

शनिवार साँझदेखि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले जोखिम नबढाउने उद्देश्यले संक्रमणको आशंका गरिने व्यक्तिहरुलाई नियन्त्रणमै लिएर भए पनि क्वारेन्टाइनमा पठाउने निर्णय गरेको हो । 

‘सुरक्षा परिचालन गरेरै भए पनि जोखिमपूर्ण बिरामीलाई उच्च सतर्कताका साथ आइसोलेसनमा राख्ने निर्णय गरिएको छ ।’ बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले भने । 

बैठकले सरकारलाई देशभर चाहिने क्वारेन्टाइन सेन्टरहरुका लागि विभिन्न संघसंस्था, अस्पताल, शिक्षण संस्था, होटल, वित्तीय क्षेत्र लगायतबाट अफर आएका र ती सेन्टरमा आइसोलेटेड रुपमा राखेर अगाडि बढाउन चाहेको उल्लेख गर्दै सरकारले ती सबै सेन्टरहरु निश्चित गर्ने कामलाई एकदार प्रणालीबाट गर्ने निर्णय समेत गरेको छ । 

यस्ता प्रकोपका बेला सही सूचना सम्प्रेषण महत्वपूर्ण हुने निश्कर्ष निकाल्दै सूचना सम्प्रेषणलाई व्यवस्थित गर्ने र संचारमाध्यमले एक भएर कोरोनासँग सम्बन्धित पूर्व सूचना, तयारीको जानकारी, सबै नागरिकहरुले अनुशासनमा बस्ने कुरालाई व्यवस्थित गर्न सबै क्षेत्रका संचारमाध्यमलाई परिचालन गर्ने र सहकार्य गर्ने निर्णय समेत भएको डा. खतिवडाले बताए । 

बैठकमा मन्त्रीहरुले कोरोना संक्रमणको जोखिम समेत मूल्यांकन गरेका थिए र सो क्रममा सबैले उच्च सतर्कता अपनाउनुपर्ने निश्कर्ष निकालेका थिए । 
यस्तै, बैठकले देशमै उपलब्ध स्वास्थ्य सामाग्री खरीदको जिम्मा स्वास्थ्य मन्त्री नेतृत्वको टिमलाई दिने निर्णय गरेको छ भने विदेशी सहायताबाट आउने वा अन्तराष्टिय बजारबाट स्वास्थ्य सामाग्री खरीदको प्रक्रिया थाल्ने जिम्मा परराष्टमन्त्रीलाई दिने निर्णय गरेको छ।