काठमाण्डौ। कोरोना संक्रमण नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा हालसम्मकै सबैभन्दा धेरैको ज्यान गएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ५८ जनाको मृत्यु भएको छ। यो एक दिनको मृत्यु आँकडा हालसम्मकै उच्च हो। हिजो मंगलबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५ थियो। योसँगै हालसम्म कोरोनाबाट ३ हजार ४७५ जनाको ज्यान गइसकेको छ। 

पछिल्लो २५ घन्टामा थप ८ हजार ६५९ जना संक्रमित थपिएका छन्। यो पनि एकैदिन थपिएका नयाँ संक्रमितको आँकडा अहिलेसम्मकै उच्च हो। 

यो अवधिमा २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जनामा र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ। 
पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार ८२५ जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौमा मात्रै २ हजार ८४९ जना, ललितपुरमा ५१८ जना र भक्तपुरमा ४५८ जना छन्। 

यो अवधिमा थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ।

​हाल देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।