काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट नेपालमा पछिल्लो २४ घन्टामा थप ५४ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर थप ५४ जनाको मृत्यु भएको हो। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको छ। यसअघि हिजो बुधबार सर्वाधिक ५८ जनाको ज्यान गएको थियो। 

पछिल्लो २४ घन्टामा थप ९ हजार ७० जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९७० जना र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितको यो एक दिनको आँकडा हालसम्मकै उच्च हो। योसँगै कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ।

यो अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ९७२ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौमा ३ हजार १६३ जना, ललितपुरमा ५६७ जना र भक्तपुरमा २४२ जना छन्।

यो अवधिमा थप २ हजार ७०७ संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ।
हाल मुलुकभर ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन्।