काठमाण्डौ । पछिल्लो २० घण्टाको अवधिमा विश्वभर ३ हजार ८५१ बढी कोरोना संक्रमितको मृत्यु भएको छ । 

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण कम हुनुको साटो झनै भयावह बन्दै गएको यो तथ्यांकले देखाउँछ । 

यो समाचार तयार पार्दासम्म पछिल्लो २० घण्टामा सबैभन्दा बढी इटलीमा ७२७ संक्रमितको मृत्यु भएको छ । अब यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १३ हजार १५५ भन्दा बढी पुगेको छ । 

यो दिन स्पेनमा ५८९, बेलायतमा ५६३, अमेरिकामा ५५६, फ्रान्समा ५०९ संक्रमितको मृत्यु भएको छ । 

पछिल्लो आँकडा अनुसार संक्रमणबाट मृत्यु हुनेहरुको संख्याको हिसाबले फ्रान्सले चीनलाई उछिनेको छ । अब विश्वमा कोरोनाबाट धेरै संक्रमितहरुको मृत्यु भएको मुलुकमा अमेरिकालाई पछ्याउँदै फ्रान्स चौथो नम्बरमा उक्लिएको छ । 

इटलीपछि दोश्रो नम्बरमा ९ हजार ५३ बढी मानिसको ज्यान गएसँगै स्पेन धेरै संक्रमित हुने मुलुकको सूचिमा दोश्रो नम्बरमा छ । 

अमेरिकामा पछिल्लो समय तीव्र गतिमा बढेको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्याले ५००० को आँकडा छुन लागेको छ । 

यी मुलुकपछि यो २० घण्टामा बेल्जियममा १२३ र नेदरल्याण्डमा १३४ संक्रमितको ज्यान गएको छ । 

यस्तै, जर्मनीमा ८३, टर्कीमा ६३, स्वीडेनमा ५९ संक्रमितले ज्यान गुमाएका छन् । 

यो २० घण्टाको अवधिमा विश्वभर ६२ हजार ६०० भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिने मामलामा सबैभन्दा अगाडि अमेरिका छ । अमेरिकामा २० घण्टाभित्र १९ हजार बढी नयाँ संक्रमित थपिएका छन् । 

स्पेनमा समेत नयाँ संक्रमित फेला पर्नेको रफ्तार घट्न सकेको छैन । यो अवधिमा स्पेनमा ६ हजार २०० भन्दा बढी संक्रमित फेला परेका छन् । 

इटलीमा नयाँ संक्रमित फेला पर्ने संख्या केही कम भई ४ हजार ७०० मा सीमित भएको छ भने फ्रान्समा बढेर ४ हजार ८०० बढी, बेलायतमा ४ हजार ३०० बढी, जर्मनीमा ४ हजार ७०० बढी संक्रमित फेला परेका छन् । 

चीनमा यो अवधिमा ७ जना संक्रमितको ज्यान गएको छ भने ३७ नयाँ संक्रमित भेटिएका छन् । 

नजिकैको छिमेकी भारतमा पनि यो दिन १० संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा एकैदिन सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । 

लकडाउनका बाबजुद भारतमा एकैदिन हालसम्मकै सबैभन्दा बढी ४३७ नयाँ संक्रमित फेला परेका छन् । 

हालसम्म विश्वभर ९ लाख २१ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको छ भने त्यसमध्ये ४६ हजार १५५ बढीले ज्यान गुमाइसकेका छन् ।