काठमाण्डौ । कोभिड १९ संक्रमणबाट विश्वभर पछिल्लो १८ घण्टा मृत्यु हुनेको संख्या २७०० पुगेको छ । 

योसँगै संक्रमणबाट मृत्यु हुनेहरुको कुल संख्या ३३ हजार ५५० पुगेको छ । 

कुल संक्रमितको संख्या ७ लाख १० हजार पुगेको छ भने पछिल्लो १८ घण्टामा मात्र विश्वभर ४७ हजार २०० बढी नयाँ संक्रमित फेला परेका छन् । 
विश्वभरमा अझै पनि २६ हजार ७०० बढी संक्रमित गम्भीर अवस्थामा छन् । 

पछिल्लो १८ घण्टामा सधंै झै सबैभन्दा बढी इटलीमा ७५६ जना संक्रमितले ज्यान गुमाएका छन् । यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७९ पुगेको छ । 

यस्तै, स्पेनमा समेत यो दिन ६२४ को मृत्यु भएसँगै त्यहाँ कुल मृतकको संख्या ६ हजार ६०० माथि पुगेको छ । 

अमेरिकामा मृत्यु हुनेहरुको संख्या समेत बढिरहेको छ । पछिल्लो १८ घण्टा १६४ संक्रमित मृत्यु भएसँगै यो देशमा कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या २३८४ पुगेको छ । 

फ्रान्समा पनि यो दिन २९२ जनाको थप मृत्यु भई कुल मृतकको संख्या २६०६ पुगेको छ भने बेलायतमा २०९ मृतक थपिएर कुल मृतकको संख्या १२२८ माथि पुगेको छ । 

यो दिन नेदरल्याण्डमा १३२, इरानमा १२३, बेल्जियममा ७८, जर्मनीमा ४९, स्वीट्जरल्याण्डमा ३६, टर्कीमा २३, पोर्चुगलमा १९ संक्रमितको मृत्यु भएको छ । 

नयाँ संक्रमित फेला पर्ने मामलामा अमेरिका तीव्र गतिमा अगाडि बढिरहेको देखिएको छ । त्यहाँ पछिल्लो १८ घण्टाभित्र १२ हजार बढी नयाँ संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ लाख ३५ हजार माथि पुगिसकेको छ । 

स्पेनमा यो दिन पनि ५५०० भन्दा बढी र इटलीमा ५२०० भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । 

यो दिन जर्मनीमा २९००, इरानमा पनि २९००, फ्रान्समा २६००, बेलायतमा २४००, टर्कीमा १८००, बेल्जियममा १७०० बढी नयाँ संक्रमित भेटिएका छन् । 
चीनमा यो दिन ५ जना संक्रमितको मृत्यु भएको छ भने ४५ जना नयाँ संक्रमित भेटिएका छन् । 

भारतमा ३ संक्रमितको मृत्युसँगै कुल मृतकको संख्या २७ पुगेको छ । पूर्ण लकडाउनमा रहेको भारतमा कोरोना संक्रमितको संख्या भने ह्वात्तै घटेको छ । यो दिन ३७ मात्रै नयाँ संक्रमित भेटिए ।