काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकाका ३ जिल्लासहित १४ जिल्लालाई कोरोनाको संक्रमणबाट अतिप्रभावितमा क्षेत्रमा राखेको छ। 

नेपाल सरकार (सचिवस्तर) को आज बिहीबारको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लासहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको हो। मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रद्वारा जारी जरुरी अपिलमा यी जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भए पनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभइदिन अपिल गरिएको छ। 

यसैगरी सबै अस्पतालहरुले अनिवार्य रुपमा ‘फिवर क्लिनिक’ सञ्चालन गर्नु तथा कोभिड–१९ परीक्षणका लागि नमुना संकलन तथा परीक्षणको व्यवस्थापन गर्न पनि अपिल गरिएको छ।

सबै नागरिकहरुमा कोभिड–१९ को संक्रमणबाट जोगिन संवेदनशील बनिदिन र जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्न र गराउन भूमिका खेलिदिन र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिन पनि मन्त्रालयले आग्रह गरेको छ।