काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठसहित ५० जनाभन्दा बढीकर्मचारीमा कोरोना पुष्टि भएको छ। 

केही दिनअघि गरिएको पीसीआर परीक्षण गर्दा सीईओ श्रेष्ठसहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हाल सीईओ श्रेष्ठसहित संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा बसेका छन्। 

सीईओ श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। ‘संक्रमितमध्ये केन्द्रीय कार्यालयका धेरै छन्, बाँकी विभिन्न शाखाका छन्’, उनले भने। 

आजबाट लागू हुने गरी काठमाण्डौ उपत्यकामा निषेधाज्ञा घोषणा गरिएकोले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरेर सेवाहरु सुचारु राखिने पनि सीईओ श्रेष्ठले जानकारी दिए। 

निधेषाज्ञामा बैंक तथा वित्तीय संस्थाहरु खुलै रहनेछन्। परिचयपत्र देखाएर बैंकका कर्मचारीलाई आवतजावत गर्न पाउने व्यवस्था उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन्। 

प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्न नेपाल राष्ट्र बैंकले भनेको छ। सेवाग्राहीबीच भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न तथा सेवाग्राहीको आवतजावत सकेसम्म कम हुनेगरी विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ। 

एटीएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि ढोका खुला राखी स्यानिटाइजर तथा टिस्यु पेपरको व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।