काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँ जित्ने सबैभन्दा राम्रो तरिका भनेको अर्थव्यवस्थालाई फेरि खुला गर्नु नै रहेको जनाएको छ। 

डब्ल्यूएचओले कोरोनालाई हराउने यो नै एउटामात्र बाटो रहेको पनि स्पष्ट पारेको छ। उसले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि जीवन र आजीविकाबीच कुनै अर्को विकल्प नरहेको पनि जनाएको छ।

डब्ल्यूएचओका महामानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयसस जेनेभामा भएको एउटा भर्चुअल ब्रिफिङमा  विश्वका अर्थव्यवस्थाहरुलाई लयमा फर्काउनका लागि सबैभन्दा छिटो तरिका नै यो भाइरसलाई हराउनु रहेको बताएका छन्। ‘यसका लागि अर्थव्यवस्थाहरु खुला गर्नु नै अन्तिम अस्त्र हो’, उनले भने।

टेड्रोसले जी–२० देशहरुका नेताहरुसँग यसै साताको अन्त्यमा भेटघाट हुने बताए। भेटका क्रममा कोभ्याक्सका बारेमा विश्वस्तरको सुविधा प्रदान गर्नका लागि आर्थिक तथा रानजीतिक रुपमा प्रतिबद्ध हुने अवसर सिर्जना हुने उनको भनाइ छ। कोभ्याक्स गरिब देशहरुका लागि कोरोनाविरुद्धको भ्याक्सिन दिन स्थापना गरिएको हो। 

त्यसो त कोरोना नियन्त्रणका लागि लागू गरिएको लकडाउनपछि धेरैजसो देशहरुले आफ्नो अर्थव्यवस्था सुचारु गरिसकेका छन्। विशेष गरी जुन देशमा कोरोनाको प्रभाव बढी छ, तिनै देशहरुले आफ्नो अर्थव्यवस्था पूर्ण रुपमा खोलेका छन्। जसमा अमेरिका, भारत, चीन, जापानजस्ता देशहरु छन्। – एजेन्सी