काठमाण्डौ । बितेका केही वर्षहरुमा एसियाली मुलुकहरुमा आर्थिक वृद्धिदर तीव्र रुपमा भइरहेको छ। तर कोरोना महामारीका कारण अहिले एसियाली मुलुकहरुको अर्थव्यवस्थामा नराम्रो असर परेको छ। यही कारण सन् २०२० मा एसियाली मुलुकहरुको अर्थव्यवसायहरुको प्रदर्शन निकै खराब देखिएको छ। 

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको विश्व आर्थिक स्थित र सम्भावना–२०२१ प्रतिवेदनमा कोरोनाका कारण मानिसको रोजगारी र आय प्रभावित हुँदा देशहरुको आर्थिक विकास जोखिममा परेका चतावनी दिइएका छ। यसले विश्वभर गरिबी बढ्ने पनि प्रतिवेदनमा उल्लेख छ। 

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागबाट जारी प्रतिवेदनअनुसार महामारीका कारण सन् २०२० मा बढेको बेरोजगारीको संख्या सन् २०२१ पनि जारी रहनेछ। कोरोनाकै कारण विश्वभर २७० करोड मानिसको रोजगारीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। बढ्दो बेरोजगारी नियन्त्रण गर्न सरकारहरुले बेलैमा कदम उठाउनुपर्ने र सामाजिक सुरक्षा लाभ, शिक्षा लक्ष्य, गरिबी र सामाजिक समानता कायम गर्न विशेष पहल गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ। 

आईएलओको अनुमानमा कोरोनाका कारण सन् २०२० मा २५.५ करोड मानिसको रोजगारी गुमेको छ। यसमा ८ करोड मानिस दक्षिण एसियाली मुलुकहरुका छन्। यसले विकासशील राष्ट्रहरुको श्रम बजार निकै प्रभावित भएको आईएलओका ठहर छ। – एजेन्सी