काठमाण्डौ । कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड लागू भएसँगै नेपालीहरुको जीवनशैलीसमेत फेरिएको छ। सानोतिनो कार्यक्रममा समेत जमात नै भेला भएर उत्सवमय बनाउने पुरानो परम्परा परिवर्तन हुँदै गएको छ। यसैको परिणाम, ठूला संस्था तथा कर्पोरेट हाउसहरुले आफ्नो वार्षिकोत्सव मनाउने शैलीसमेत फरक बनाउन थालेका छन्। 

देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो २८ औँ वार्षिकोत्सवमा पनि यस्तै फरक शैली अपनायो। अस्पतालले अघिल्लो वर्षको २७ औँ वार्षिकोत्सव मनाउन पाएको थिएन। गत वर्ष वैशाख १ गते सरकारले विभिन्न क्षेत्रमा निषेधाज्ञाहरु लागू गरेको थियो। यसकै कारण नर्भिकले वार्षिकोत्सव मनाउन सकेन। 

यो वर्ष पनि कोरोनाको दोश्रो लहर सुरु भएको भनिएको छ। तर, गत वर्षको जस्तो आवतजावत नै ठप्प हुने खालको कडाइ गरिएको छैन। जनस्वास्थ्यको मापदण्डहरु पालना गरेरमात्र उत्सवहरु मनाउन सरकारले गरेको आग्रहलाई साथ दिँदै नर्भिकले यस वर्ष अस्पताल परिसरकै मन्दिरमा पूजा लगाएर वार्षिकोत्सव मनायो। 

पूजा कार्यक्रममा पण्डितसहित ५ जनामात्र सहभागी थिए। सबै कर्मचारीलाई सहभागी गराउँदा भीडभाड हुने र संक्रमणको जोखिम हुने निष्कर्ष निकाल्दै आफूहरुले ५ जनाको सहभागितामा पूजा कार्यक्रम गरी वार्षिकोत्सव मनाएको नर्भिकका अपरेसन हेड कपिल गौतमले जानकारी दिए। 

कोरोना आउनुभन्दा अघिल्ला वर्षहरुमा नर्भिकको वार्षिकोत्सव विशेष हुन्थ्यो। भव्य समारोहका बीच तत् समयका स्वास्थ्यमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्मका व्यक्तित्वहरुलाई निम्त्याएर वार्षिकोत्सव मनाइन्थ्यो। ‘तर, कोरोनाले यी सबै कुरा स्थगन गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ’, गौतमले भने, ‘वार्षिकोत्सव वा यस्तै कुनै उत्सव मनाउँदा देशवासीले समेत सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने र छिटोछरितो ढंगले फरक शैली अपनाउन सक्छन् भन्ने सन्देशसमेत हामीले दिन खोजेका हौँ।’ 

नर्भिक अस्पतालले वार्षिकोत्सवकै अवसर पारेर आफ्नो अस्पताल क्षेत्रमा प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने घोषणासमेत गरेको छ। यो घोषणाको पूर्ण कार्यान्वयन केही दिनको तयारीपछि हुने गौतमले जानकारी दिए।