काठमाण्डौ। चीनको व्यापारिक केन्द्र सांघाईमा कारको बिक्री शून्य भएको छ।

कोरोना महामारी नियन्त्रण गर्न चीन सरकारले जारी गरेको कडा लकडाउनका कारण अप्रिल महिनामा सांघाईमा कारको बिक्री शून्य भएको हो। २ करोड ५० लाख मानिसहरु बसोबास गर्ने चीनको सबैभन्दा ठूलो सहरी क्षेत्रका रुपमा रहेको सांघाई विगत ७ सातादेखि कडा लकडाउनमा रहेको छ। 

सरकारी अधिकारीहरुले मानिसहरुलाई घरमै बस्न र व्यापार–व्यवसाय बन्द गर्न आदेश दिएका छन्।  अधिकारीहरुले सोमबार केही स्थानमा सीमित क्रियाकलाप गर्न छुट दिइने बताए पनि त्यहाँका अधिकांश मानिसले आफूहरुलाई घरबाहिर निस्किन नदिइएको बताएका छन्। 

लकडाउनले सांघाईको कार बजार नराम्ररी प्रभावित भएको छ। सांघाई अटोमोबाइल ट्रेड एसोसिएसनले सोमबार जारी गरेको प्रतिवेदनअनुसार त्यहाँका अधिकांश डिलरहरु बन्द अवस्थामा छन् र बिक्री शून्य छ। 

समग्रमा अप्रिल महिनामा चीनमा कार बिक्री ४६ प्रतिशतले घटेको छ। अप्रिल महिनामा कारको बिक्रीमा आएको गिरावट पछिल्लो एक दशककै खराब हो। 

चीन कोरोना महामारी पुनः तीव्र गतिमा फैलिएसँगै ३० वटाभन्दा बढी सहर पूर्ण वा आंशिक लकडाउनमा रहेका छन्। 

सांघाई चीनको प्रमुख अटो बजारको हो। गत वर्ष सांघाईमा ७ लाख ३६ हजार ७०० युनिट कार बिक्री भएको थियो। सांघाई ठूला अटो कम्पनीहरुका लागि उत्पादन केन्द्र समेत हो। यहाँ टेस्ला, भोल्सवागेन, बोस्च र जेटएफ गुप्रजस्ता कम्पनीको कारखाना रहेको छ। 

सांघाई र चीनका अन्य ठूला सहरहरुमा जारी गरिएको लकडाउनका कारण आपूर्ति शृंखला प्रभावित हुनुका साथै ग्राहकको क्रय क्षमतामा समेत ह्रास आएको छ। 

चाइना प्यासेन्जर कार एसोसिएसनका अनुसार अप्रिल महिनामा चीनमा टेस्लाको बिक्रीमा अघिल्लो महिनाको तुलनामा ९८ प्रतिशतको गिरावट आएको छ। यस्तै टेस्लाको सांघाई कारखानाको उत्पादनमा ८१ प्रतिशतको गिरावट आएको छ। 

सांघाईमा जारी लकडाउनका कारण पार्टहरुको अभावका कारण गत साता टोयटाले जापानमा रहेका १४ वटा उत्पादन केन्द्रहरुको सञ्चालन बन्द गरेको थियो। 

यस्तै चीनमा निसान मोटरको बिक्री पनि ४६ प्रतिशतले घटेको छ। –एजेन्सी