- जीवन बिष्ट
धनगढी । विश्व महामारी कोरोनाभाइरसका कारण २० अर्ब लगानी रहेको सुदूरपश्चिम प्रदेशको होटेल व्यवसाय धरापमा परेको छ।
व्यवसाय ठप्प हुँदा होटेल व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन् भने प्रदेशका विभिन्न होटेलमा रोजगारी पाएका ४५ हजार मानिसको रोजगारीसमेत गुमेको छ।
सुदूरपश्चिम प्रदेशमा करिब २० अर्ब लगानीमा करिब ७ हजार बढी होटलहरु खुलेको र त्यसमा ४५ हजार जनाले रोजगारी पाएको होटेल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको तथ्यांकले देखाएको छ। तर अहिले सबैजसो होटेल सुनसान बनेपछि अहिले दैनिक होटेल व्यवसायीहरुले ७ अर्बबराबरको घाटा व्यहोर्दै आएका छन्।
अधिकांश होटेलहरु ऋण र घर भाडा लिएर सञ्चालन गरिएकाले व्यवसायीहरू समस्यामा पर्न थालेका छन्। ‘आफ्नो जायजेथा बन्धक राखेर लगानी बढाएका तथा नयाँ व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूको ‘लगानी बालुवामा पानी’ जस्तो भएको छ। अब यो महामारी कहिले नियन्त्रण हुन्छ ? कहिलेबाट बजार खुल्ला भएर आर्थिक कारोबार सामान्य अवस्थामा फर्किन्छ भन्ने कुनै निश्चित छैन,’ होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कमल बमले भने, ‘बजार सामान्य अवस्थामा आए पनि होटेल व्यवसाय पूर्ववत् अवस्थामा फर्किन थप केही महिना लाग्ने निश्चित छ।’
सरकारले कोरोना महामारीका कारण स्वास्थ्य असुरक्षा देखाउँदै चैत्र ११ गतेदेखि लकडाउन गरेपछि सुदूरपश्चिम होटेलहरुमा ग्राहक न्यून मात्रामा आउने गरेका थिए। ‘तर सरकारले लकडाउन खोले पनि अहिले ग्राहक नै नआउँदा होटेल बन्द गर्नुपर्ने अवस्था छ’, धनगढीस्थित जलसा होटेलका सञ्चालक वसन्त हमालले भने।
हमालले कोरोना कहरका कारण व्यवसाय पूरै ठप्प छ। ‘ग्राहक नहुँदा दैनिक लाखौँको घाटा भइरहेको छ’, उनले भने।
होटेलहरु सञ्चालनमा आए पनि यातायात पूर्ण रूपमा सञ्चालनमा नआउँदा समस्या भएको होटेल व्यवसायी संघ कैलालीले जनाएको छ। ‘यस्तै अवस्था रहे धनगढीका होटेलहरु बन्द हुने अवस्थामा पुग्नेछन्’, अध्यक्ष बलमे भने।
कैलालीमा मात्रै सानाठूला गरी ३ हजार ६०० होटेल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनमा छन्। कैलालीका होटेल व्यवसायमा १० अर्बको लगानी छ। ‘कोरोना महामारीका कारण कैलालीका होटेल व्यवसायीहरुले मात्र अहिलेसम्म साढे ३ अर्ब घाटा व्यहोर्नुपरेको छ’, बमले भने।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago