काठमाण्डौ । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ३७ हजार पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वभर २९०० हाराहारीमा संक्रमितहरुको मृत्यु भएसँगै कुल मर्नेको संख्या ३७ हजार पुगेको हो । 

एकैदिन २९०० को संख्यामा मानिसहरु यो भाइरसको संक्रमणबाट मर्नुलाई विज्ञहरुले भयावह र गम्भीर अवस्था भनेका छन् । 

यो २४ घण्टाको अवधिमा विश्वभर ४७ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । 

संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेसँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८ लाख नजिक पुगेको छ । 

यो दिन पनि कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सबैभन्दा बढी इटलीमा ८१२ जनाको मृत्यु भएको छ । 

यस्तै स्पेनमा ५३७ संक्रमितको मृत्यु भएको छ । 

इटलीमा अब कोरोनाबाट मर्नेको संख्या ११ हजार ५९१ पुगेको छ भने स्पेनमा ७ हजार ३४० पुगेको छ । 

इटली र स्पेनपछि फ्रान्सको अवस्था समेत भयावह बन्दै गएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ४१८ संक्रमितको मृत्यु भई त्यहाँ हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ नाघेको छ । 

अमेरिकामा पनि २८७ संक्रमितको मृत्यु भई कुल मृतकको संख्या २८७० पुगेको छ । 

बेलायतमा एकैदिन १८० संक्रमितको मृत्यु भई यहाँ पनि कुल मृतकको संख्या १४०० माथि पुगेको छ भने इरानमा यो दिन ११७ को मृत्यु भई कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या २७५७ पुगेको छ । 

नेदरल्याण्ड र बेल्जियममा पनि यो दिन क्रमशः ९३ र ८२ संक्रमितले ज्यान गुमाएका छन् । 

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टाभित्र अमेरिकामा सबैभन्दा बढी १३२०० भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । 

स्पेनमा ५ हजार ८५, फ्रान्समा ४ हजार ३७६, इटलीमा ४ हजार ५०,  इरानमा ३ हजार १८६, बेलायतमा २ हजार ६१९, जर्मनीमा १५००, टर्कीमा १६१०, क्यानडामा ९७७, स्वीट्जरल्याण्डमा ९३१ नयाँ संक्रमित भेटिएका छन् । 

भारतमा यो दिन ४७ नयाँ संक्रमित भेटिएका छन् । थप २ को मृत्यु भएको छ । 

विश्वभरका संक्रमितमध्ये ३० हजार हाराहारीका बिरामी गम्भीर अवस्थामा छन् । 

हालसम्म विश्वभर १ लाख ६० हजार २४३ संक्रमित निको भएर घर फर्किएका छन् । 

यो समयसम्म आउँदा कोरोना भाइरस संक्रमण भई निको हुनेहरुको संख्या ८१ प्रतिशत रहेको छ ।