काठमाण्डौ। विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको इपिसेन्टर चीनको हुबे प्रान्तको वुहान सहरका सबै संक्रमित आइतबार साँझसम्म अस्पतालबाट डिस्चार्ज घर फर्किएका छन्।

चाइना नेसनल हेल्थ कमिसन के प्रवक्ता मी फेङका अनुसार वुहान सहरस्थित अस्पतालहरुमा अब एकजना कोरोना संक्रमितको पनि उपचार भइरहेको छैन। ‘सबै संक्रमित ठिक भएर अस्पतालहरुबाट डिस्चार्ज भएर घर फर्किसकेका छन्’, उनले भने। 

स्वास्थ्यकर्मीको कडा मेहनतका कारण वुहानका अस्पतालहरुमा उपचाररत संक्रमितहरु ठिक भएर घर फर्किएको फेङले बताए। गत वर्ष डिसेम्बर अन्त्यदेखि वुहानमा देखिएको यो भाइरसले शनिबारसम्म वुहानमै ४६ हजार ४५२ जना संक्रमित भएको तथ्यांक रहेको उनले जानकारी दिए। 

वुहानमा महामारीका रुपमा यो भाइरस फैलिएपछि करिब ७६ दिन लकडाउन गरिएको थियो। केही साताअघि लकडाउन खोलेर जनजीवन सामान्य बनिसकेको छ। 

यसैबीच चीनमा पछिल्लो २४ घन्टामा एकजनाको पनि यो संक्रमण ज्यान नगएको अधिकारीहरुले बताएका छन्। योसहित चीनमा कोरोनाबाट ज्यान नगएको लगातार यो दोस्रो दिन हो। 

बितेको २४ घन्टामा चीनमा केवल ३ जना नयाँ संक्रमित फेला परेका छन्। अघिल्लो दिन चीनमा ११ नयाँ संक्रमित फेला परेका थिए। – एजेन्सी