काठमाण्डौ । अमेरिकासँगको व्यापार तनावका कारण समस्यामा रहेको चिनियाँ अर्थतन्त्र कोरोना भाइरसको महामारीले थप थिलथिलो बन्ने अर्थशास्त्रीहरुले प्रक्षेपण गरेका छन् । 

कोरोना भाइरसका कारण व्यापारमा मन्दी आएसँगै चीनले कर कटौति, ब्याजदर कटौति लगायतका कदमहरु चाल्नुपर्ने हुन्छ । यसले सो देशको अर्थतन्त्रमै नराम्रो धक्का पुग्ने प्रक्षेपण बाहिरिएको हो । 

कोरोना भाइरसबाट अर्थतन्त्रलाई पर्ने प्रभावको दुरुस्त तस्वीर अहिले नै उतार्न असंभव छ, तर केही मिडिया रिसर्च र केही अर्थशास्त्रीहरुको विश्लेषणलाई हेर्दा चीनको ग्रोथमा यो त्रैमासमा २ प्रतिशत प्वाइन्टले गिरावट आउनसक्छ । यसको अर्थ चीनको अर्थतन्त्रले ६२ बिलियन अमेरिकी डलर बराबरको क्षति व्यहोर्नुपर्नेछ । 

गत वर्षको यो देशको जीडीपी ग्रोथ तीन दशककै कमजोर बनेको थियो । अमेरिकासँगको तनावपूर्ण व्यापार सम्बन्धका कारण देश दिनहुँ ऋणको दलदलमा फसिरहेको र त्यहाँबाट माथि उठ्ने कोशिश गरिरहेको बेला कोरोनाको त्रासले फेरि अर्को आर्थिक संकट ल्याइदिएको सिएनएनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

चीनको यूआनमा पहिलोपटक देखिएको कोरोना भाइरसले हालसम्म २०० व्यक्तिको ज्यान लिइसकेको छ भने सयौं बिरामी परेका छन् । 

केन्द्रीय तथा स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रणका लागि हालसम्म १२.६ बिलियन डलर बराबरको बजेट विनियोजन गरिसकेका छन् । महामारी तत्काल नियन्त्रण नहुने हो भने यो आपतसँग लड्ने बजेट निकै ठूलो आकारमा चाहिने अवस्था आउनसक्छ । 

अहिले नै अति प्रभावित क्षेत्रका बैंकहरुले साना तथा मझौला व्यवसायी र व्यक्तिहरुलाई लक्षित गरी ब्याजदरमा कटौति गरिसकेका छन् । बैंक अफ चाइनाले भाइरसबाट अति प्रभावित क्षेत्रका आफ्ना ऋणिहरुलाई ऋणको किस्ता तिर्न समस्या भए कयौं महिनासम्मको सुविधा उपलब्ध गराइने समेत घोषणा गरिसकेको छ । बैंकले भाइरसको महामारी भए पनि तरलता प्रशस्त रहेको समेत दाबी गरेको छ ।