काठमाण्डौ । कोरोना भाइरसको संक्रमणको खतरालाई भित्रिन नदिन आइतबारदेखि सेमी लकडाउन गर्ने घोषणा गरेको सरकार एक्सनमा उत्रिएको छ । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति शनिवार साँझदेखि बसी केहीबेरअघि सकिएको बैठकले प्रधानमन्त्रीले हिजो सम्बोधनमार्फत घोषणा गरिएका विषयको प्रभावकारी कार्यान्वयनका लागि एक्सनमा उत्रिने निर्णय गरेको हो । 

प्रभावकारी एक्सनका लागि सरकारले ६ वटा समितिहरु समेत निर्माण गरेको छ । 

बैठकपछि संचारमन्त्रीसँग कुरा गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वास्थ्य सामाग्रीको आपूर्तिका लागि स्वदेशभित्र खरीद गर्ने सामानका लागि स्वास्थ्यमन्त्री तथा विदेशबाट अनुदानको रुपमा आउने वा सामान खरीद गर्नका लागि परराष्टमन्त्रीको संयोजकत्वमा २ वटा कार्यदल बनाइएको बताए । 

यस्तै, आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाइराख्न आपूर्तिमन्त्रीको संयोजकत्वमा अर्को कार्यदल बनाइएको छ । 

उच्च तहको राजनीतिक र सामाजिक सहकार्य गर्नका लागि कृषि मन्त्रीको नेतृत्वमा कार्यदल बनेको छ भने देशभरका उपयुक्त स्थानमा क्वारेन्टाइन केन्द्र राख्ने विषयको व्यवस्थापनका लागि पर्यटन मन्त्री संयोजक र स्वास्थ्य मन्त्री र संघीय मामिलामन्त्री सदस्य रहने गरी अर्को कार्यदल गठन गरिएको डा. खतिवडाले जानकारी दिए । 

यस्तै, संक्रमित तथा बिरामीहरुको व्यवस्थापनका लागि गृह मन्त्रालयको समन्वय रहने गरी अर्को कार्यदल गठन गरिएको छ । 

संचार क्षेत्रको समन्वयका लागि अर्थमन्त्री समेत रहेका संचारमन्त्री डा. खतिवडाकै नेतृत्वमा अर्को कार्यदल बनेको छ । 

कोरोनाको जोखिम न्यूनिकरणका लागि हुने सबै कार्यहरुको अनुगमन, योजनाहरुको कार्यान्वयन लगायतका समग्र गतिविधि हेर्नका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कार्यान्वयन अनुगमन कार्यदल बनेको छ ।