काठमाण्डौ । तीव्रगतिमा रहेको कोरोना संक्रमणको बढोत्तरी रोक्न दक्षिण अफ्रिकाले मदिरा बिक्रीवितरणमा प्रतिबन्धसहितका नयाँ नियमहरु घोषणा गरेको छ।

दक्षिण अफ्रिकी सरकारले सोमबार रातिबाट लागू हुने गरी मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ। साथै रातको समयमा कफ्र्यु लगाइने र दिनको समयमा घरबाहिर निस्किनेहरुले पनि अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाइएको छ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाका अनुसार दोस्रोपटक लगाइएको मदिरामाथिको प्रतिबन्धले स्वास्थ्य व्यवस्थामा परेको दबाब कम हुनेछ। अगस्ट १५ सम्म देशमा आपतकाल बढाउँदै राति ९ बजेपछि बिहान ४ बजेसम्म कफ्र्यु जारी हुने पनि रामफोसाले जानकारी दिए। 

दक्षिण अफ्रिकामा हालसम्म २ लाख ७६ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन्। तीमध्ये ४ हजार बढीको मृत्यु भइसकेको छ। – एजेन्सी