काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमण युद्धस्तरमा फैलिरहेको छ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट ३२ हजार ६०६ जना संक्रमित भएका छन्। यो एकैदिन संक्रमित हुने संख्या हालसम्मकै उच्च हो। 

योसँगै भारतमा संक्रमित हुनेको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको छ। 

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतबाट कोरोनाबाट ६०६ जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ हजार ९१५ पुगेको छ। 

कोरोनाले भयावह रुप लिन थालेपछि भारतका विभिन्न राज्यमा फेरि लकडाउन जारी गरिएको छ। बिहार, कर्नाटक, महाराष्ट्र र पश्चिम बंगालका केही स्थानमा लकडाउन जारी गरिएको हो। 

पश्चिम बंगाल एक साताका लागि लकडाउन गरिएको छ। महाराष्ट्रको पुणे आउँदो २३ जुलाईसम्म लकडाउन जारी गरिएको छ।

बिहारमा जुलाई महिनाभरि लकडाउन लागू गरिएको छ। कर्नाटकको मेंगलुरुमा १० दिनका लागि लकडाउन लगाइएको छ। – एजेन्सी