काठमाण्डौ । तपाइँलाई थाहा छ ? विश्वमा यसअघि सबैभन्दा चाँडो कुन रोगका लागि भ्याक्सिन खोजिएको थियो ?

टाइम्स् म्यागेजिनका अनुसार त्यो रोग हो मम्प्स अर्थात हाडे। जसको भ्याक्सिन विकास गर्न वैज्ञानिकहरुलाई चार वर्ष लागेको थियो। 

तर कोरोना महामारी जुन तीव्रताका साथ फैलिरहेको छ र जुन गतिमा मानिसहरुको ज्यान लिइरहेको छ, त्यसलाई हेर्दा यसविरुद्धको भ्याक्सिन विकास गर्ने काम पनि ऐतिहासिक रुपमा तीव्रगतिमा चलिरहेको छ। यतिबेला कोरोनाविरुद्ध विश्वभरमा भ्याक्सिन विकास गर्न लगभग २३ वटा परियोजनामाथि काम भइरहेको छ। तर यीमध्ये केहीमात्रै ट्रायलको तेस्रो तथा अन्तिम चरणमा पुगेका छन्। अहिले विश्वभरका मानिसहरु कुनै पनि भ्याक्सिन पूर्ण रुपमा सफल हुने प्रतीक्षामा बसिरहेका छन्। 

अक्सफोर्ड कोभिड भ्याक्सिन

अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन प्रोजेक्ट चाडअक्स–१ मा स्विडेनको फर्मा कम्पनी एस्त्राजेनेका पनि समावेश छ। अक्सफोर्ड युनिभर्सिटीको कोभिड भ्याक्सिनको परीक्षणको काम विश्वका अलग–अलग देशहरुमा चलिरहेको छ। 

मे महिनामा विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सौम्या विश्वनाथनले अक्सफोर्डको प्रोजेक्टको सबैभन्दा परिस्कृत कोभिड भ्याक्सिन भएको बताएका थिए। बेलायतमा अप्रिल महिनामा यो भ्याक्सिन प्रोजेक्टको पहिलो र दोस्रो चरणको परीक्षणको काम एकसाथ पूरा गरिएको थियो। 

१८ देखि ५५ वर्षका १ हजारभन्दा धेरै स्वयंसेवीमा गरिएको उक्त परीक्षणमा भ्याक्सिनको सुरक्षा र मानिसहरुको प्रतिराधात्मक क्षमताको जाँच गरिएको थियो। अक्सफोर्ड युनिभर्सिटीको यो भ्याक्सिन प्रोजेक्ट अहिले परीक्षण र विकासको तेस्रो र अन्तिम चरणमा रहेको छ। अक्सफोर्डको कोभिड भ्याक्सिनको यो चरणमा करिब ५० हजार स्वयंसेवीले भाग लिने सम्भावना रहेको छ। 

दक्षिण अफ्रिका, अमेरिका, बेलायत, ब्राजिलजस्ता देशहरु परीक्षणको अन्तिम चरणमा भाग लिइरहेका छन्। यदि अन्तिम चरणको नजिजा पनि सकारात्मक आयो भने अक्सफोर्ड युनिभर्सिटीको अनुसनधान समूह वर्षको अन्तिमसम्म बेलायतको नियामक संस्था मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सीसँग रजिस्ट्रेसनका लागि वर्षको अन्तिमसम्म आवेदन दिनेछ। 

मोडर्ना कोभिड भ्याक्सिन 

मोडर्ना भ्याक्सिन प्रोजेक्ट आफ्नो अन्तिम चरणको सुरुआती अवस्थामा रहेको अनुमान लगाइएको छ। मोडर्नाले परीक्षणको यो चरणमा ३० हजार मानिसमा यो भ्याक्सिनको परीक्षण गर्नेछ। बोस्टनमा रहेको कम्पनीले यससम्बन्धी गत सोमबार दिएको थियो। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई कोरोना भाइरसविरुद्धको अहिलेसम्मको सबैभन्दा तीव्र भ्याक्सिन प्रोजेक्ट भएको बताएका छन्। मोडर्नाको क्लिनिकल परीक्षणमा अमेरीकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ पनि सहभागी छ। इन्स्टिच्युटका निर्देशक फ्रान्सिस कोलिन्सका अनुसार यो वर्षको अन्तिमसम्म कोरोनाविरुद्धको भ्याक्सिन बनाउने लक्ष्य राखिएको छ।

कोभिड १९ का लागि जिम्मेवार भाइरस सार्स कोभ २ को जेनेटिक संरचना पत्ता लगाउन मोडर्नालाई केवल ४२ दिन लागेको थियो। मोडर्ना भ्याक्सिनको पहिलो चरणको नतिजा सकारात्मक देखिएको थियो र दोस्रो चरणको आँकडा अगस्त महिनाको अन्तिम वा त सेप्टेम्बर महिनामा जारी गरिने विश्वास लिइएको छ। 

चिनियाँ कोभिड भ्याक्सिन

चीनको निजी फर्मा कम्पनी सिनोवेक बायोटक जुन कोभिड भ्याक्सिन प्रोजेक्टमाथि काम गरिरहेको छ। त्यो परीक्षणको तेस्रो तथा अन्तिम चरणमा पुगेको छ। सरकारी अनुमतिभन्दा अघि कुनै पनि भ्याक्सिन मानिसमा परीक्षणमा खरो उत्रनुपर्दछ। 

मोडर्ना र अक्सफोर्ड युनिभर्सिटी पछि परीक्षणको अन्तिम चरणमा पुग्ने यो विश्वको तेस्रो भ्याक्सिन विकास प्रोजेक्ट हो। कोरोना भ्याक नामको यो भ्याक्सिनको अहिले ब्राजिलमा ९ हजार स्वयंसेवकमाथि परीक्षण चलिरहेको छ। कोरोना महामारीका लागि जुन तीव्रताका साथ भ्याक्सिन विकासको काम चलिरहेको छ, त्यो देख्दा अर्काे वर्षको सुरुआतसम्म सिनोब्याक बायोटेकको भ्याक्सिनलाई सरकारी अनुमति प्राप्त हुने अनुमान लगाउन सकिन्छ। 

फाइजर र बायोएनटेकको भ्याक्सिन 

अमेरिकाको फर्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेक मिलेर एउटा कोभिड भ्याक्सिन प्रोजेक्ट बीएनटी१६२बी२ माथि काम गरिरहेका छन्। सोमबार दुवै कम्पनीले एउटा संयुक्त वक्तव्य जारी गर्दै आफूहरु मानव परीक्षणको अन्तिम चरणमा पुगेको बताएका थिए। यदि अन्तिम परीक्षण पनि सफल हुने हो भने अक्टोबर महिनाको अन्तिमसम्म उनीहरुले सरकारी अनुमतिका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको योजना सन् २०२० को अन्तिम सम्म भ्याक्सिनको १० करोड र सन् २०२१ को अन्तिमसम्म १.३ अर्ब डोज आपूर्ति सुनिश्चित गर्नु हो। प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने दाबी गरिएको यो भ्याक्सिनको दुईवटा डोज प्रदान गरिनेछ। विश्वभर १२० ठाउँमा यसको परीक्षण चलिरहेको छ र यसमा ३० हजार स्वयंसेवक सहभागी हुने सम्भावना रहेको छ। – बीबीसीबाट भावानुवादित