काठमाण्डौ । भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षामन्त्री कमला रानी वरुणको कोरोनाभाइरस संक्रमणबाट आइतबार बिहान मृत्यु भएको छ।

मन्त्री वरुणमा गत जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई उपचारार्थ लखनउस्थित सञ्जय गान्धी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो। 

करिब दुई साता लामो उपचारका क्रममा पनि उनको स्वास्थ्यावस्थामा सुधार आउन सकेन। उपचारकै क्रममा उनको निधन भएका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले जानकारी दिए। मन्त्री वरुणको मृत्युपछि मुख्यमन्त्री आदित्यनाथले आज गर्ने भनिएको आफ्नो अयोध्या र बाराबंकीको यात्रा स्थगित गरेका छन्। 

६२ वर्षिय वरुण कानपुर जिल्लाको घाटमपूर लोकसभा क्षेत्रबाट १९९६ र १९९८ गरी दुइपटक लोकसभा सदस्य भएकी थिइन्। सन् २०१७ को चुनाव जित्दै उनी उत्तर प्रदेशको विधायक बनेकी थिइन्। उनी गत वर्षमात्रै प्राविधिक शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन्। – एजेन्सी