काठमाण्डौ । कोरोनाभाइरसबाट हालसम्म विश्वभर २ करोड १७ लाख ७० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये ७ लाख ७२ हजार बढीको ज्यान गइसकेको छ।

यो भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशमा भ्याक्सिन तथा औषधि विकासका कामहरु भइरहेका छन्। तर अहिले पनि यो भाइरस तीव्र रुपमा फैलिरहेको छ। 

यसबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भाइरस फैलिनमा २० देखि ४० वर्ष उमेर समूहका मानिसको बढी हात रहेको जनाएको छ। अझ यो उमेर समूहका कतिपय मानिसलाई आफू संक्रमित भइसकेको पनि थाहै नहुने गरेको डब्ल्यूएचओले खुलासा गरेको छ। ‘यो उमूह समूहका मानिसहरु हृस्टपुष्ट अनि ऊर्जाशील हुन्छन्, उनीहरुसँग कोरोना संक्रमणविरुद्ध लड्ने इम्युनिट पावर पनि बढी हुन्छ’, डब्ल्यूएचओको प्यासिफिक क्षेत्रका निर्देशक ताकेशी कासाईले ले भने, ‘तर यी उमेर समूहका कतिपय संक्रमितमा लक्षण नै देखिँदैन, त्यसैले उनीहरु खुलेआम घुम्छन् र अरु पनि संक्रमित हुन्छन्।’ 

कासाईका अनुसार यही कारणले कोरोना फैलिने खतरा झनै बढेको छ। ‘यसबाट वृद्धवृद्धा, बिरामी मानिस र घनाआवादी भएका क्षेत्रमा संक्रमणको जोखिम बढेको छ’, उनले भने। – एजेन्सी