काठमाण्डौ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि विकास भइरहेका भ्याक्सिन निर्माणका लागि करिब ५ लाख सार्कको मारिने खबरले अहिले विश्वभर तहल्का मच्चिएको छ।

वास्तवमा सार्कको कलेजोबाट एक किसिमको तेल उत्पादन हुन्छ। जुन विभिन्न रोगविरुद्धको भ्याक्सिन बनाउन प्रयोग हुन्छ। 

अहिले कोरोनाविरुद्ध बनेका अधिकांश भ्याक्सिनमा पनि सार्कको कलेजोबाट उत्पादित तेलको प्रयोग भइरहेको जीवजन्तुको क्षेत्रमा क्रियाशील संस्था वाइल्ड लाइफ एक्सपर्ट्सले जनाएको छ। यही कारणले यदि भ्याक्सिन ठूलो मात्रामा उत्पादन हुन थाले विश्वभर करिब ५ लाख सार्क मारिन सक्ने उक्त संस्थाले चेतावनी दिएको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित सार्क अलाइज संस्थाले पनि कोरोना भ्याक्सिन विकासका लागि ५ लाख बढी सार्क मारिने सम्भावना रहेको जनाएको छ। ‘सार्कको कलेजोमा स्क्वेलेने नामक पदार्थ उत्पादन हुन्छ। जुन एउटा प्राकृतिक तेल हो’, संस्थाले भनेको छ, ‘यही तेल विभिन्न रोगविरुद्धको भ्याक्सिन उत्पादनमा प्रयोग हुन्छ। अहिले कोरोनाविरुद्धको भ्याक्सिनमा पनि यसको प्रयोग अत्याधिक मात्रामा बढ्दै गएको छ।’

सार्क अलाइजका अनुसार यदि विश्वभरका मानिसलाई कोरोना भ्याक्सिनको एक डोजमात्र आवश्यक पर्यो भने पनि साढे २ लाख सार्कलाई मार्नुपर्ने हुन्छ। यदि दुई डोज चाहियो भने ५ लाख बढी सार्कको बलि चढाउनुपर्ने अवस्था आउने संस्थाले जनाएको छ। 

सार्क अलाइजका संस्थापक स्टिफनी ब्रेन्डिलले ठूलो परिमाणमा जलचरको आहूति दिनु गलत हुनेछ। ‘विना जीवनजन्तु वा जलचरको स्क्वेलेन (पदार्थ) प्रयोग गरेर अन्य तरिकाबाट भ्याक्सिन विकासको काम अगाडि बढाउन राम्रो होला’, उनले भने। – एजेन्सी