काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सरकारद्वारा कोरोना रोकथामाका लागि स्थापित कोषमा १ करोड ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । 

बैंकको सोमबार साँझ बसेको संचालक समितिको बैठकले कोरोना रोकथामका लागि सरकारलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिजशालालाई जानकारी दिए । 

सरकारले कोरोना रोकथामका लागि कोष स्थापना गरी सबै क्षेत्रबाट सहयोगको आह्वान गरेसँगै नेपालका बैंकहरुले त्यहाँ सहयोग गर्ने क्रम बढेर गएको छ । कोषमा हालसम्म नेपाल बैंकले १ करोड, कृषि विकास बैंकले १ करोड २५ लाख, ग्लोबल आइएमई बैंकले १ करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् । 

सोमबार नै उद्योगपति बसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका थिए । आइतबार साँझ एनआरएनएले १ करोड सहयोगको घोषणा गरेको थियो भने अन्य क्षेत्रबाट समेत कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।