काठमाण्डौ । अमेरिकाको चर्चित कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोनाभाइरस भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकेको छ। 

ट्रायलमा सहभागी एक स्वयंसेवकमा अज्ञात रोग देखिएपछि कम्पनीले तेस्रो चरणको ट्रायल रोकेको हो। कम्पनीले यस विषयमा अनुसन्धान गर्न एउटा स्वतन्त्र बिरामी सुरक्षा समिति बनाएको छ। 

तेस्रो चरणको ट्रायल रोकेसँगै कम्पनीले यो ट्रायलमा सहभागी हुन स्वयंसेवकहरुलाई आह्वान गरेको अनलाइन दरखास्त पनि बन्द गरेको छ। कम्पनीले यो अन्तिम चरणको ट्रायलमा ६० हजार स्वयंसेवकमाथि यो भ्याक्सिन परीक्षण गर्ने जनाएको थियो। 

हाल यो भ्याक्सिनको ट्रायल अमेरिकासँगै दक्षिण अफ्रिका, अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, मेक्सिको र पेरुमा पनि भइरहेको छ। कम्पनीले यति ठूलो परीक्षणमा यस्ता समस्या आउन सक्ने सम्भावना हुन्छ र त्यसैको अनुसन्धानका लागि हाललाई ट्रायल रोकिएको जनाएको छ। 

जोन्सन एन्ड जोन्सनको यो भ्याक्सिनलाई निकै महत्वपूर्ण मानिएको छ। किनकि यसको केवल एक डोजले नै बिरामीको शरीरमा इम्युनिटी विकसित गर्ने दाबी गरिएको छ। यो भ्याक्सिन सबजिलो तापमान पनि स्टोर गर्न आवश्यक नरहेको कम्पनीले जनाएको छ। – एजेन्सी