काठमाण्डौ । कोरोना महामारीबीच पनि स्मार्टफोन एवं इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने दक्षिण कोरियाली कम्पनी सामसुङले नाफा ५९ प्रतिशतले बढेको छ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु वित्त वर्षको तेस्रो त्रैमास प्रतिवेदनअनुसार कम्पनीले २ वर्षयताकै उच्च नाफा आर्जन गर्न सफल भएको हो। तेस्रो त्रैमाससम्म यो कम्पनीले १०.९८ अर्ब डलर नाफा आर्जन गरेको छ। 

कम्पनीले कम्प्युटर मेमोरी चिप, स्मार्टफोन र अन्य उपकरणहरुको बिक्रीबाट यति धेरै नाफा आर्जन गर्न सफल भएको हो। 

यो अवधिमा कम्पनीको राजस्व ८ प्रतिशतले बढेर ५९ अर्ब डलरको उच्चस्तरमा पुगेको छ। यो राजस्व कम्पनीको कुनै पनि त्रैमासभन्दा निकै अधिक हो।

कम्पनीका अनुसार कोरोना महामारीको प्रकोप जारी नै रहे पनि प्रमुख अर्थव्यवस्थाहरु खुलेका कारण उपभोक्ताको मागमा तीव्र वृद्धि भएको छ। कम्पनीले कम्प्युटर चिपको मागमा केही कमी आए पनि स्मार्टफोन तथा उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा निकै प्रतिस्पर्धा बढेको छ। यही कारण अब अन्तिम त्रैमासमा भने नाफा घट्न सक्ने कम्पनीले जनाएको छ। 

सामसुङलाई कोरोना महामारी र अमेरिका–चीन व्यापार तनाव दुवैले फाइदा भएको छ। अमेरिकाद्वारा चिनियाँ कम्पनीहरुमा लगाइएको प्रतिबन्धका कारण सामसुङका स्टमार्टफोन, स्मार्टफोन चिप र दूरसञ्चार उपकरणको खपत बढेको छ। अमेरिकाले सेमीकन्डक्टर बनाउने केही चिनियाँ कम्पनीहरुलाई पनि कारबाही गरेको छ। यसको सीधा फाइदा सामसुङलाई भइरहेको छ। – एजेन्सी