काठमाण्डौ । भरतपुर महानगरपालिकाले संचालन गरेको कोरोनाको उपचार हुने विशेष अस्पतालमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । 

उच्च ज्वरो, रुघाखोकीबाट ग्रसित बनेका वीरगञ्जका ३० वर्षीय युवकको मंगलबार बिहान ७ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालका अधिकारीहरुले बताएका छन् । 

विगत केही दिनअघिदेखि निरन्तर उच्च ज्वरो र रुघाखोकीबाट ग्रसित बनेपछि ती युवकलाई चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । तर, सो मेडिकल कलेजको अस्पतालले कोरोना विशेष अस्पताल भरतपुर पठाइदिएको थियो । 

चिकित्सहरुका अनुसार ती युवकलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । तर हालसम्म उनको स्वाब परीक्षण भएको थिएन । स्वाब परीक्षणमा ढिलाई हुँदा  समयमै कोरोना हो या होइन भन्ने पुष्टि नभएको स्रोतहरु बताउँछन् । ती युवकको मृत्यु भएपछि मात्रै स्वाब परीक्षणका लागि नमूना टेकु पठाइएको छ । यसले समेत कोरोना आशंका भएका बिरामीको स्वाब परीक्षणमा कुन हदसम्म लापरबाही भइरहेको छ भन्ने देखाउने अधिकारीहरु बताउँछन् ।