काठमाण्डौ । अमेरिका, बेलायत, रुसलगायत केही देशमा विश्व महामारी कोरोनाभाइरविरुद्धको खोप दिन सुरु भइसकेको छ। कतिपय मानिस अब निष्फिक्री यात्रा र किनमेल तथा फिल्म हेर्न पाउनेजस्ता सपना पनि देख्न थालेका छन्। तर यी सबै गतिविधि गर्न अब तपाइँ एउटा छुट्टै भ्याक्सिन पहिचानपत्र अर्थात ‘भ्याक्सिन पासपोर्ट एप्लिकेसन’ बोक्नुपर्नेछ।

अहिले थुप्रै कम्पनी र टेक्नोलोजी ग्रुपहरुले सर्वसाधारणका लागि आफ्नो कोरोना परीक्षण र खोप लगाएको विवरण सजिलै देखाउन सक्नेखालका स्मार्टफोन र प्रविधिको विकास गर्न लागिपरेका छन्। उनीहरु यस्ता डिजिटल कागजपत्रको विकास गर्न चाहन्छन्, जुन सजिलैसँग कुनै कन्र्सट, रंगशाला, सिनेमा हल, कार्यालय वा अन्य देशको यात्राका क्रममा देखाउन सकियोस् ।

दी कमन ट्रस्ट नेटवर्क नामक जेनेभास्थित गैरनाफामुखी संस्था दी कमन्ज प्रोजेक्ट र दी वल्र्ड इकोनोमी फोरमको परियोजनाले अहिले यस कार्यका लागि अमेरिकाका थुप्रै एयरलायन्स कम्पनी जस्तै क्याथे प्यासिफिक, जेटब्लू, लुफ्थान्सा, स्विस एयलायन्स, युनाइटेड एयरलायन्स र भर्जिन एटलान्टिकसँगै सयौँ स्वास्थ्य संस्थाहरु सहकार्य गरेको छ। यो परियोजनाअन्तर्गत ‘कमन पास’ एप बनाइएको छ। जसमा प्रयोगकर्ताहरुले आफ्नो कोरोना परीक्षण नतिजा र खोप लगाएको तथा अन्य स्वास्थ्यसम्बन्धी जानकारी अपलोड गर्न सक्नेछन्। यो जानकारी प्रयोगकर्ताहरुले क्यूआर कोडको मद्दतले आवश्यक ठाउँमा सजिलै देखाउन सक्नेछन्। 

यस्तै ठूलो टेक फर्म आईबीएमले पनि आफ्नो छुट्टै एप विकास गरेको छ। जसलाई डिजिटल हेल्थ पास भनिएको छ। यसमा पनि कम्पनी र अन्य स्थलमा सहभागी हुनेहरुले सजिलै कोरोना परीक्षण, तापक्रम जाँच र खोपको तथ्यांकसम्बन्धी जानकारी सजिलै देखाउन सक्नेछन्। 

खोप लगाउने काम सुरु भएसँगै विकसित यस्ता एपहरुले गोपनीयता र सत्यतथ्य तथ्यांक हो होइन भन्ने विषयमा भने चुनौती सामना गर्नुपर्ने हुन सक्छ । यद्यपि यसले कोरोना महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सजगताका विषयमा भने प्रात्याभूति गर्न सकिने प्रविधि विकासकर्ताहरु दाबी गर्छन्। – एजेन्सी