काठमाण्डौ । अमेरिकी कम्पनी टेस्लाले सन् २०२० मा कार उत्पादन तथा बिक्रीवितरणमा नयाँ कीर्तिमान कायम गरेको छ।

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले गत वर्ष ५ लाख विद्युतीय कार निर्माण गर्यो। जुन कुनै पनि वर्षमा कम्पनीले उत्पादन गरेको सबैभन्दा ठूलो संख्या हो।

उत्पादित कारमध्ये कम्पनीले ४ लाख ९९ हजार ५५० वटा कार ग्राहकलाई डेलिभरी गरिसकेको छ। अन्य कार पनि ग्राहकसम्म पुग्ने क्रममा रहेको कम्पनीले जनाएको छ। कारको उत्पादन तथा बिक्रीवितरणको यो संख्या सन् २०१९ को तुलनामा एक तिहाइले बढी हो।

कोरोना महामारीबीच टेस्लाको क्यालिफोर्नियास्थित मुख्य उत्पादन कारखाना दुई महिनाका लागि बन्द भएको थियो। यद्यपि कम्पनीले ५ लाख कार उत्पादन गर्न सक्नुलाई ठूलो उपलब्धि मानेको छ।

कम्पनीको सन् २०१९ को अन्त्यतिरबाट चीनको सांघाईमा नयाँ कारखाना सञ्चालनमा आएको थियो। यही कारखाना कम्पनीको भाग्य चम्काउनमा महत्वपूर्ण सावित भएको छ। किनकि सन् २०२० मा उत्पादित तथा ग्राहकसम्म पुर्याइएका टेस्लाका कारमध्ये ठूलो हिस्सा त्यहीँ उत्पादित छन्।

समग्रमा सन् २०२० को चौथो त्रैमासिकमा टेस्ला कम्पनीले १ लाख ७९ हजार ७५७ युनिट कार उत्पादन गरेको थियो। जुन अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ७१ प्रतिशतले बढी हो। यस त्रैमासिकमा कम्पनीले त्यसअघि उत्पादित समेत गरी १ लाख ८० हजार ५७० युनिट कार ग्राहकलाई डेलिभरी गरेको थियो। जुन अघिल्लो वर्षको तुलनामा ६१ प्रतिशतले धेरै हो। – एजेन्सी