काठमाण्डौ । फेरि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सरकारले सतर्कता अपनाउन देशभरका स्वास्थ्य मन्त्रालयमातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्कुलर जारी गर्दै भारतका विभिन्न प्रान्तहरुमा कोरोना संक्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै संक्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए। मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, संघीय प्रादेशिक अस्पताल, स्वास्थ्य संघसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्षमा सतर्कता अपनाउन निर्देशन दिएको छ। 

भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडीटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन मन्त्रालयले दिएको छ। मन्त्रालयका सर्कुलरमा यसरी परीक्षण गर्दा संक्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य संघसंस्थासँग समन्वय गर्न भनिएको छ।

यस्तै विदेशबाट आएका व्यक्तिलाई क्यारेन्टिनमा राख्न र रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले संक्रमण खोजी गर्न र कन्ट्याक्ट टे«सिङको कार्यलाई पनि बढाउन निर्देशन दिएको छ। 

सबै अस्पताल र स्वास्थ्य संस्थामा महामारी व्यवस्थापनका लागि आवश्यक तयारी राख्न पनि सर्कुलरमा निर्देशन दिइएको छ। मन्त्रालयले स्थानीय तहलाई संक्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी ‘समुदायस्तरमा कोभिड–१९ को गरिने एन्टिजेन परीक्षण प्रक्रियासम्बन्धी मार्गदर्शन’ बमोजिम गर्न निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार नेपालमा पनि सक्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न– नगराउन निर्देशन दिएको थियो। भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।