काठमाण्डौ । कोरोनाको दोस्रो लहर युद्धस्तरमा फैलिन थालेपछि भारतको सबैभन्दा ठूलो दुईपांग्रेस सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्ना सबै कारखाना बन्द गर्ने निर्णय गरेको छ। 

कम्पनीले यही अप्रिल २२ देखि मे १ सम्म आफ्ना सबै कारखाना बन्द गर्ने निर्णय गरेको हो। यो समय कारखानामा रहेका प्लान्टहरुमा आवश्यक मर्मतसम्भारको काम गरिने कम्पनीले जनाएको छ। 

कम्पनीको हरियाणा, घारुहेरा, चित्तुर, हरिद्वार, निमराना र हलोलमा ६ वटा कारखाना छन्। यी कारखानाबाट ८० हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।

हाल कम्पनीको सबै कर्पोरेट कार्यालयका कर्मचारीहरु वर्क फ्रम होममा छन्। केही कर्मचारीहरुमात्र आलोपालो गरेर कार्यालयबाटै काम गरिरहेका छन्। 

यो अवधिमा कम्पनीका ग्लोबल पार्ट्स सेन्टहरु पनि बन्द हुनेछन्। – एजेन्सी