नयाँदिल्ली । भारतमा दोश्रो लहरको कोरोना कहर जारी छ । यो क्रममा पहिलोपटक त्यहाँ कोरोना संक्रमितको संख्या र संक्रमणदरमा कमी आएको छ । भारतका कैयन क्षेत्रहरुमा कोरोना संक्रमितको संख्या लगातार घटिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ३ लाखभन्दा कम संक्रमित फेला परेका छन् । देशभर कुल २ लाख ८२ हजार ३६ संक्रमित फेला परेका छन् ।

२० अप्रीलदेखि हालसम्म भारतमा लगातार कोरोना संक्रमितको संख्या बढ्दो छ । त्यसको २५ दिनपछि पहिलोपटक भारतमा कोरोना संक्रमितको संख्या घटेको हो । 

यदि ९ दिन पहिला अर्थात मे ६ को आँकडासँग तुलना गर्ने हो भने गत २४ घण्टामा भारतको नयाँ संक्रमित फेला पर्ने क्रम तीव्र गिरावट आएको देखिएको छ । ६ मेमा भारतमा ४ लाख १४ हजार संक्रमित थपिएका थिए, त्यसको तुलनामा गत २४ घण्टामा थपिएका संक्रमितको संख्या करिब ३० प्रतिशत कम हो । 

कोरोना संक्रमितको संख्या निरन्तर घटे पनि मृत्यु हुनेको संख्या समेत घट्न सकेको छैन । गत २४ घण्टाको अवधिमा भारतमा ४ हजार १०० संक्रमितको मृत्यु भएको मिडिया रिपोर्टमा जनाइएको छ । यो साता पनि भारतमा कोरोनाबाट मर्नेको संख्या प्रत्येक दिन ४००० माथि पुगिरहेको छ । 

भारतमा यो साता १६ प्रतिशतको गिरावटका साथ कोरोनाका २४ लाख नयाँ संक्रमित थपिए । यसअघिको हप्तामा भने २७.४ लाख नयाँ संक्रमित थप भएका थिए । मे महिनाको १० देखि १६ को अवधिमा कोरोना जति संक्रमित फेला परेका छन्, त्यो संख्या बितेका ३ हप्तामै सबैभन्दा कम हो ।