काठमाण्डौ । एउटा अमेरिकी खुफिया रिपोर्टमा विश्वमा कोरोना महामारी फैलिनुभन्दा एक महिनाअघि नै चीनको वुहान ल्याबका ३ जना शोधकर्ता बिरामी परेको खुलासा गरिएको छ। 

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरअनुसार वुहान इन्स्टिच्युट अफ बायरोलजीका ३ शोधकर्ता सन् २०१९ नोभेम्बर मा बिरामी परेको र उनीहरुले उपचारका लागि अस्पतालसँग मद्दत मागेको खुलेको छ। यो खुफिया रिपोर्टमा वुहान ल्याबमा बिरामी परेका शोधकर्ताको संख्या, उनीहरु बिरामी परेको समय र अस्पतालमा भर्ना भएका विषयमा विस्तृत जानकारी उल्लेख रहेको दाबी गरिएको छ। 

यो खुफिया रिपोर्टले कोरोना महामारी उत्पत्तिका विषयमा थप जाँचका लागि मद्दत पुर्याउन सक्ने बताइएको छ। किनकि हालसम्म विश्वमा यो भाइस वुहान ल्याबबाटै फैलिएको हुन सक्ने आशंका अझै पनि गरिँदै आएको छ। 

यो खुफिया रिपोर्ट विश्व स्वास्थ्य संगठनको हुन लागेको महत्वपूर्ण बैठकअगाडि सार्वजनिक हुनुले निकै चासोपूर्वक हेरिएको छ। उक्त बैठक यो भाइरसको उत्पत्तिका विषयमा हुने आगामी चरणको जाँचका विषयमा केन्द्रित हुने बताइएको छ। – एजेन्सी