काठमाण्डौ । कोरोना संक्रमण बढ्न थालेपछि छिमेकी मुलुक भारतको दिल्लीमा ‘विकेन्ड कर्फ्यु’ जारी गरिएको छ। 

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीमा ‘विकेन्ड कर्फ्यु’को घोषणा गरेका हुन्। अब साताको शनिबार र आइतबार दिल्लीमा कर्फ्यु लगाइनेछ। 

यसअघि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइएको थियो।

तीव्रगतिमा फैलिरहेको संक्रमणलाई मध्यनजर गर्दै दिल्लीमा अतिआवश्यकबाहेक सबै सरकार कार्यालयका कर्मचारीहरुले अब घरबाटै काम गर्नेछन्। निजी कार्यालयहरुलाई पनि ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न लगाउन सिसोदियाले निर्देशन दिएका छन्। 

कर्फ्युको समयमा अत्यावश्यक अवस्थामा मात्रै घरबाहिर निस्किन सिसोदियाले आग्रह गरे। 

पछिल्लो २४ घन्टामा भारतमा थप ३७ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२४ जनाको मृत्यु भएको छ।