नयाँदिल्ली । भारतको कानपुरका एक आइआईटी प्रोफेसरले कोरोनाको तेश्रो लहरको विषयमा आफ्नो प्रक्षेपण सार्वजनिक गरेका छन् । उनले यसअघिका लहरहरुमा गरेका प्रक्षेपण पनि निकै मिलेका कारण पछिल्लो पनि भाइरल भएको छ । 

प्रोफेसर डा. मनिन्द्र अग्रवालले भारतमा निकट भविष्यमै दैनिक ४ देखि ८ लाख कोरोना संक्रमित हुनेछन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा १ लाख १७ हजार बढी संक्रमित फेला परेका छन् । भारतमा ७ महिनापछि दैनिक कोरोना संक्रमितको संख्या १ लाख माथि पुगेको हो । दैनिक संक्रमित एकलाख माथि पुगेकै बेला प्रोफेसर अग्रवालको प्रक्षेपण सार्वजनिक भएको हो । 

अग्रवालले एकैपटक धेरै संक्रमित देखिँदा अस्पतालमा शैया तथा अन्य स्वास्थ्य सामाग्री अभाव देखिने संभावना भएकोले बेलैमा प्रबन्ध मिलाउनुपर्ने सुझाव दिएका छन् । 

उनले जनवरी महिनाको अन्तिम साता वा फेब्रुअरीको पहिलो सातासम्म भारतमा कोरोना संक्रमणको तेश्रो लहर पिकमा पुग्ने दाबी गरेका छन् । यही बेला ४ देखि ८ लाखसम्म दैनिक संक्रमित भेटिनेछन् । 

उनका अनुसार पछिल्लो समय भारतको राजधानी दिल्लीको अवस्था उति साह्रो ठीक छैन, तर पहिलाभन्दा सुधार भइरहेको देखिन्छ । दिल्लीमा १५ जनवरी आसपास नै तेश्रो लहरको पिक सुरु हुने उनको प्रक्षेपण छ । दिल्लीमा मात्र यो बेला ३५ देखि ७० हजारसम्म दैनिक संक्रमित भेटिनेछन् । यो बेला अस्पतालहरुमा १२ हजारभन्दा बढी शैयाको जरुरत पर्नेछ । 

यस्तै, पिकमा पुगेको अवस्थाम मुम्बईमा दैनिक ३० हजारदेखि ६० हजारसम्म नयाँ संक्रमित भेटिनेछन् । त्यसबेला मुम्बईमा मात्र १० हजार शैयाको खाँचो पर्नेछ । 

यस्तै, कोरोनाको तेश्रो लहर मार्चको अन्तिमसम्ममा न्यून हुनेछ । त्यसबेला पूरा भारतमा दैनिक १० देखि २० हजारसम्म मात्र नयाँ संक्रमित फेला पर्नेछन् । 

भविष्यवाणी गर्दै गर्दा डा. अग्रवालले तेश्रो लहरमा कोरोनाबाट संक्रमित हुनेमध्ये अस्पताल नै जानुपर्ने अवस्थामा थोरै मात्र मानिस पुग्ने दाबी समेत गरेका छन् । संक्रमणदर उच्च रहेको पनि यो यसअघिका लहरका भाइरसजस्तो घातक नरहेको उनको तर्क छ ।